तौलिहवा, १५ जेठ। एक जना भारतीय नागरिक नेपाली कर्मचारी रहेको खुलासा भएको छ।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका एक जना कर्मचारी भारतीय नागरिक रहेको खुलासा भएको हो।
लामो समयदेखि आफ्नो भारतीय नागरिकको परिचय लुकाएर कृष्णानगरमा बसोबास गर्दै आएका सकिर अहेमदले कपिलवस्तु जिल्लामा घरजग्गा सम्पत्ति जोडेर बसेका छन्। नेपालका कर्मचारी र जनप्रतिनिधिहरूलाई आर्थिक प्रलोभनमा पारेर नेपाली नागरिकता लिएका सकिर अहेमदले पत्नीसहित घरका सबैलाई नेपाली नागरिकता दिलाएका छन्।
नेपाली नागरिकता देखाएर सकिर अहेमदले कृष्णानगर नगरपालिकामा जागिर खान समेत भ्याएका छन्। सकिर अहेमदको नाममा भारतको उत्तरप्रदेशको लखनउमा लाखौँको सम्पत्ति अहिले पनि छ। भारतको निर्वाचन आयोगको मतदाता सूचीमा सकिर अहेमदको नाम र तस्वीर अहिले पनि छ। मतदाता सूचीमा सकिर अहेमदको नाम र तस्वीर ‘युडब्लुपी १४८०६७२’ हेर्न सकिन्छ। यो सूचीमा सकिर अहेमदकी पत्नी नूरजहाँको नाम समेत छ।नूरजहाँको भारतीय मतदाता संख्या ‘यूडब्लुपी १४८०६९८’ रहेको छ।
एक हप्ता अगाडि मतगणनाको अन्तिम रिजल्ट आइसकेको भारतको लोकसभा निर्वाचनमा समेत उनीहरू उत्तर प्रदेश गएर मतदान गरेका थिए। सकिर अहेमदले भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा आफू र आफ्नी पत्नीको नाम र तस्वीर रहेको स्वीकार गरेका छन्। ‘भारतीय निर्वाचन आयोगको सूचीमा रहेको तस्वीर मेरो र मेरी पत्नीको हो’, उनले भने भारत र नेपालको दोहोरो नागरिकता लिएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘तर हामीले सूचीमा नाम राखेका होइनौँ। विरोधीहरूले हाम्रो नाम र तस्वीर राखिदिएको हो।’
सकिर अहेमदले भने, ‘भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा नाम राख्न एक सय रुपियाँ खर्च गरेपछि भइहाल्छ। हाम्रा विरोधीले त्यसो गरेका होलान्।’ भारतीय निर्वाचन आयोगको सूचीमा नाम रहेको प्रतिक्रिया दिएका कृष्णानगर नगरपालिकाका कर्मचारी सकिर अहेमदले नेपाली नागरिक भएर लिएको सेवा सुविधाका बारेमा धेरै बोल्न मानेनन्।
कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले सकिर अहेमदले फर्जी कागज पत्र पेस गरेर नेपाली नागरिकता लिएको बारेमा उजुरी नआएको बताए। ‘व्यक्तिले नेपाली नागरिकता कसरी ? कुन आधार प्रमाणका रुपमा लिएको छ ? त्यो कुरालाई हामीले हेर्ने हो’, उनले भने, ‘कुनै विदेशी नागरिकले गलत आधार र प्रमाण पेस गरेर नेपाली नागरिकता लिएको छ भने कारबाही हुन्छ।’
प्रमुख जिल्ला अधिकारी पोखरेलले दोहोरो नागरिकता लिएको विषयमा पहिला कृष्णानगर नगरपालिकामा उजुरी दिन र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिन सल्लाह दिएका छन्। ‘अख्यिारको काम गर्ने अधिकार मलाई हुँदैन’, उनले भने, ‘मैले हेर्ने भनेको कसरी ? कुन आधार प्रमाणमा नागरिकता लिइएको छ त्यसलाई छानविन गर्ने हो।’




लाेकपाटी न्यूज

