सुकुम्बासी समस्या समाधानकाे नीति बनाइसकेका छाैं : मन्त्री अर्याल

Padma Aryal (11)
लाेकपाटी न्यूज

काठमाडौँ, १५ जेठ । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले सुकुम्वासीका लागि योजना बनाइसकेको बताएकी छिन्।

नापी विभागको ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार आयोजित कार्यक्रममा उनले सहकारी र भूमि विभागमार्फत गरीबी घटाएर शूून्य बनाउने सरकारले योजना बनाएको जानकारी गराईन्। “अहिले हाम्रो लागि भूमि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ”, उनले भनिन्।

उनले जनताको चाहनाअनुरुप सरकारले विभिन्न क्षेत्रमा पारदर्शीता कायम गर्दै लैजाने लक्ष्य बनाएको बताइन्। “अहिले हामी निकै चुनौतीपूर्ण अवस्थामा छौँ”, उनले भनिन्, “सिद्धान्त बनाउनु सरकारको काम हो, त्यसलाई कर्मचारीले कार्यान्वयनमा ल्याउनुपर्छ।”

सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. दिलबहादुर गुरुङले भर्खरै सम्पन्न सगरमाथाको उचाइ मापनले विभागको उचाइ बढेको बताए। “नेपाल गरीब देश भए पनि आफैँले उचाइ मापन गर्न सक्नु गौरवान्वित विषय हो”, उनले भनिन्। भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कुनै पनि संस्थाले संस्थागत रुपमा काम गरे उपलब्धि हासिल गर्न सक्ने बताए।

जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारीले छोटो समयमा नै विश्वका अन्य देशसँग नेपालले प्रतिस्पर्धा गरेको उल्लेख गरे। नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले सगरमाथाको उचाइ मापन गर्नुपूर्व विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको बताए। सो अवसरमा सगरमाथा मापन टोलीका प्रमुख खिमलाल गौतमलगायत सात व्यक्तिलाई सम्मान गरिएको थियो। (रासस)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्