काठमाडौं, १४ जेठ । पर्वत जलजला ८ स्थायी घर भई हाल चितवन रत्ननगर ५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि पर्वत, जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिविकास जिसीले कब्जा गरेको आरोप लगाएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दमाईले यस्तो आरोप लगाएका हुन्। उनले भने,‘मेरो बुवा–आमा कान नसुन्ने, लाटालाटी हुनुहुन्छ, उहाँहरुलाई झुक्याएर जिसीले सम्पत्ति कब्जा गरेका छन्। तर, त्यो जग्गाको जग्गाधनी पुर्जा अहिले पनि मेरो आमाको नाममा छ।’ जिसीले ९ आना २ पैसा २ दामको जग्गा कब्जा गरेको दमाईले बताए।
दमाईले कब्जा गरेको आफूहरुको जग्गा पटक-पटक फिर्ताको लागि आग्रह गर्दा उल्टै जिसीले शक्तिको दुरुपयोग गरेर धम्क्याउने गरेको उनले आरोप लगाए। उनले भने ,‘मैले हाम्रो जग्गा फिर्ता गर्नु भनेर बारम्बार आग्रह गर्दा पनि उनले यो जग्गा मैले तेरो बुवासँग पैसा दिएर किनेको भन्दै धम्क्याउने गरेका छन् । तर, मेरो बुवासँग पैसाको कारोबारे गरेको मलाई थाहा छैन्।’
दमाईको बुवा चन्द्रे दमाईको २०५५ सालमै निधन भैसकेको छ भने आमाको अवस्था पनि निकै नाजुक छ। दमाई स्वयम पनि शारिरीक अपाङ छन्। जिसीले २०४४ सालदेखि नै उक्त जग्गा कब्जा गरेको उनको आरोप छ। २०७२ साल जेठ १ गते जिल्ला प्रशासन कार्यालय पर्वतमा उक्त जग्गा विवादबारे दुवै पक्षबीच छलफल भएको र उक्त छलफलमा आफ्नो बुवासँग जग्गा किनेको प्रमाण जिसीले पेश गर्न नसकेको सुनाए।
उनले भने,‘जिल्ला प्रशासन कार्यालयको छलफलमा जिसीले जग्गा किनेको कुनै प्रमाण पेश गर्न सकेनन्, बरु मेरो बुवाले चिया, चिनीलगायतका सामान लिएको भनेर कपाली नामका ९ हजारको तमसुकको प्रतिलिपी चाहीँ देखाए, मैले यदि साँच्चिकै मेरो बुवाले चिया, चिनीको लागि पैसा लिएको हो भने म नेपाल सरकारको प्रचलित व्याजअनुसार साँवा र ब्याज नै चुक्ता गर्न तयार छु भनेको थिएँ। तर, उसले मानेनन्।
उनको नियत भनेको नै हाम्रो जग्गा कब्जा गर्ने देखियो।’ सरकारले यसबारेमा सत्य, तथ्य छानबिन गरी दोषी जिसीमाथि कारबाही गर्दै आफूहरुलाई न्याय दिनुपर्ने दमाईको माग छ । दमाईले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘यसबारेमा मैले पटक पटक जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि निवेदन गरे।
जिल्ला प्रशासन र प्रहरी कार्यालयसमेतले पटक पटक पहल गर्ने प्रयास गरेको थिए। ताकेता गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयले २०७२ जेठ ५ गतेको मितिमा पत्र संख्या ०७१, ०७२ चलानी नम्बर ३५७२ को पत्र काटिएपनि वडा अध्यक्ष जिसीले जग्गा फिर्ता गर्न तयार नभई उल्टै धम्की दिने काम भएको छ।’
उनले आफ्नो परिवारको नाममा कहीँ कतै एक टुक्रा पनि जग्गा जमिन नभएको जिकिर गरे। उनले अघि भनेका छन्,‘स्थानीय सरकारका जिम्मेवार व्यक्ति तथा धौलागिरी बस व्यवसायी समितिका सचिव समेत रहेका शक्तिशाली र धनि व्यक्तिले म जस्तो दलित, गरिव र शारिरीक रुपमा कमजोर रहेको व्यक्तिप्रति अलिकति पनि मानवीयता नदेखाई घर जग्गा गैरकानूनी रुपले उपयोग गर्नु भनेको संविधान र कानून विपरित छ।’
कार्यक्रममा तिलक परियार, गणेश बिक, रणेन्द्र बराईली र दिनेश भुषालले पीडित दमाईले न्याय पाउनुपर्ने बताएका थिए। उनीहरुले आँफ्नै वडाअध्यक्षले यसरी अन्याय गर्नु गलत भएको भन्दै पीडितको पक्षमा आफूहरुले वकालत गर्ने र आवाज बुलन्द पार्ने प्रतिबद्धता जनाए।



लाेकपाटी न्यूज
