नयाँदिल्ली, १४ जेठ। भारतमा अघिल्लो साता सम्पन्न १७ औँ लोकसभा चुनावमा पार्टीले पराजय व्यहोरेपछि भारतीय कंग्रेसका छ प्रदेश प्रमूखले राजीनामा दिएका छन्।
असामका कंग्रेस आई प्रमुख रिपुम बोरा र झारखण्डका अजयकुमारले हारको नैतिक जिम्मेवारी लिँदै केन्द्रीय अध्यक्ष राहुल गान्धीलाई राजीनामा पत्र पठाएका छन्। पञ्जाबका प्रदेश प्रमुख सुनिल जखरले पनि राजीनामा दिएका छन्। उनी आफैं अभिनेता सनी देवलसँग पराजित भएका थिए।
यसअघि महाराष्ट्रका अशोक चौहान, उडिसाका निरन्जन पटनाइक र उत्तर प्रदेशका राज बाबरले राजीनामा दिने बताएका थिए।मध्यप्रदेशका चुनावी अभियानका संयोजक एचके पटेलले गत साता नै राजीनामा दिएका थिए। उनीहरूको राजीनामा अध्यक्ष राहुल गान्धीले स्वीकृत गर्नु पर्नेछ।
राहुल आफैंले गत शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा दिने बताएका थिए।तर सबै केन्द्रीय सदस्यले उनको राजीनामा जरूरी नभएको बताएपछि उनले राजीनामा दिएनन्।गत बिहीबार आएको चुनावी परिणाममा कंग्रेस आईले ५४२ मध्ये ५२ सिटमात्र जितेको थियो।



लाेकपाटी न्यूज

