विभिन्न ६ अभियोगमा १३ पक्राउ (नामसहित)

Arrest pic
लाेकपाटी न्यूज

काठमाडौं, १४ जेठ । देशका विभिन्न ठाउँबाट विभिन्न ६ अभियोगमा १३ जना पक्राउ परेका छन्।

अभियोग १ : चितुवाको छाला कारोबार
काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट चितुवाको छाला १ थान सहित अछाम चौरपाटी गाँउपालिका–४ पायल बस्ने २१ वर्षीय उमेश शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा वन्यजन्तु चितुवाको छालाको कारोवार हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले शाहलाई उक्त छाला बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभियोग २ : अवैध लागूऔषध
महानगरीय प्रहरी प्रभाग बलम्बुमा लागूऔषध मुद्दामा म्याद थप अनुसन्धानका लागि राखिएका थुनुवालाई भेट्न आएका २ जनालाई नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट र करिब ३ ग्राम कालो चरेस जस्तो देखिने पदार्थसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका–१ घर भई हाल ललितपुर बालकुमारी बस्ने २२ वर्षीय धर्मेन्द्र लिम्बु र कालीकोट राजकोट नगरपालिका–६ घर भई हाल ललितपुर ईमाडोल बस्ने १९ वर्षीय सुजन बम ठकुरी रहेका छन् ।

थुनुवालाई भेट्न आएका उनीहरुलाई डिउटीमा खटिएको प्रहरीले जाँच गर्दा बोकेको झोलामा वाइवाइ चाउचाउको प्याकेट भित्र लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला पारेको हो ।

त्यस्तै धनुषाको नगरईन नगरपालिका २ स्थित जनकपुर उपमहानगरपालिका २ बस्ने ३५ वर्षीय प्रसन्न पौडेलसहित २ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, Pyeevon spas plus नाम गरेको ट्याब्लेट २४ पिस र Exiplon २ बोतलसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी लगमाजटहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभियोग ३ : श्रीमतीमाथि छुरा प्रहार
आफ्नै ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका–१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएकी ललिताको विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभियोग ४ : लुटपाट
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियोग ५ : जुवातास
वीरगंज महानगरपालिका–१० अशोकबाटिकाबाट जुवा खेलिरहेको अवस्थामा ५ जनालाई नगद ३४ हजार रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालीका–१० अशोकबाटिका बस्ने ५६ वर्षीय राजुबहादुर श्रेष्ठ र सोही महानगरपालिका बस्ने ४० वर्षीय किसान सर्राफ, ३७ वर्षीय हिरालाल प्रसाद गुप्ता, ४७ वर्षीय सत्य नारायण महतो र अशोकबाटिका डेरा गरी बस्ने ५३ वर्षीय राजाराम महतो रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभियोग ६ : चोरी
डाक्नेश्वरी नगरपालिका–६ को वडा कार्यालयमा रहेका जिन्सि सामानहरु चोरी गरिरहेको अवस्थामा सोही नगरपालिकाका २२ बर्षीय बुधन यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त वडा कार्यालयको झ्याल फोडी कार्यालयमा रहेको मोवाईल २ थान, ल्यापटप १ थान, एलइडि १ थान र शान्ति सुरक्षा भर्पाई पुस्तिका चोरी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पातो, सप्तरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्