काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट शंकास्पद गतिविधिमा संलग्न ७ जना पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रेसर कुकर ४ थान, मसाल जुलुस गर्न प्रयोग हुने बाँसको भाटा १ बोरा, पर्चाहरु, प्रदेश ३–०२–००३ प ७३८२ नम्बरको मोटरसाइकल १ थान र मोवाइल ९ थान बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही स्थान डेरा गरी बस्ने ओखलढुङ्गा चण्डेश्वरी घर भएका ४२ वर्षीय बुद्धि बहादुर सुनुवार, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ५२ वर्षीय तेज बहादुर मोक्तान, झापा मेचिनगर नगरपालिका–३ घर भई हाल ललितपुर ग्वार्को बस्ने ५० वर्षीय तेजराज काफ्ले, रोल्पा त्रिवेणी गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३६ वर्षीय बुद्धिलाल पुन, झापा बुद्धशान्ति गाउँपालिका–४ घर भई ललितपुर सानागाँउ बस्ने ३७ वर्षीय डम्बर बहादुर तामाङ, सल्यान बागचौर नगरपालिका–७ घर भई भक्तपुर सानो ठिमी बस्ने २७ वर्षीय चित्रकमल वली र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ बस्ने ३६ वर्षीय राकेश श्रेष्ठ रहेका छन् ।
उक्त स्थानमा शंकास्पद गतिविधि भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरीले बुद्धि बहादुर सुनारको कोठा खानतलासी गर्दा उक्त सामानहरुसहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

