फूल चढाएर मात्र कृष्ण सेन ‘ईच्छुक’प्रति सम्मान हुँदैन : प्रचण्ड (भिडियो) 

prachanda -11
लाेकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फूल चढाएर, श्रद्धाञ्जली गरेर मात्र कृष्ण सेन ‘इच्छुकप्रति सच्चा श्रद्धाञ्जली नहुने बताएका छन्।

जनयुद्धका शहिद, पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसमा प्रेस संगठन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘फूल चढाएर, श्रद्धाञ्जली गरेर मात्र कृष्ण सेन ‘इच्छुक’प्रति सच्चा सम्मान हुँदैन। हामीले यहाँले लिएको लक्ष्य र विचारधारात्मक चेतबाट सिक्न सके, अनुशरण गर्न सके मात्र इच्छुकप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।’

‘कृष्ण सेन एक जना प्रसिद्ध कवि हुनुहुन्थ्यो, साहित्यकार हुनुहुन्थ्यो, कुशल पत्रकार हुनुहुन्थ्यो’ प्रचण्डले भने, ‘यहाँ पत्रकार र साहित्यकार मात्र हुनुहुन्थेन, एक क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। जनयुद्धका क्रममा जनमत निर्माणमा उहाँले खेलेको भूमिकाको विशेष स्मरण गर्नुपर्छ। उहाँले विचारधाराका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ।’

‘उहाँको कलम तिखो र कुशलताका साथ चल्थ्यो, संस्मरण र लेखहरु वर्ग पक्षधरतामा आधारित हुन्थे।’ प्रचण्डले भने, ‘पार्टीभित्रको अन्तरसङ्घर्षमा उहाँले पेचिलो सङ्घर्ष गर्नुहुन्थ्यो। उहाँ जहिले पनि क्रान्तिको पक्षमा, वर्गको पक्षमा, क्रान्तिकारी कित्ताको पक्षमा, एकताको पक्षमा हुनुहुन्थ्यो। उहाँ जहिले पनि अवसरवाद र व्यक्तिवादका विरुद्ध उभिनुहुन्थ्यो। कहिल्यै पनि फुटको पक्षमा उभिनुभएन।’

प्रचण्डले विचारधारात्मक एकताकै आधारमा पार्टी एकता गरिएको बताए। उनले भने, ‘कतिपयलाई लागेको होला, विचारमा एकता नगरी पार्टी एकता गरियो। तर, त्यो भ्रामक कुरा हो। हामीले निश्चित विचारका आधारमा, मान्यताका आधारमा, समाजवादी क्रान्तिको तयारी गर्ने मान्यताका आधारमा एकता गरेका छौं। कोही पनि भ्रममा नपरौं।’

उनले कसैले इतिहासबाट पछाडि फर्कन खोजे पनि त्यो सम्भव नहुने बताए। प्रचण्डले भने, ‘कसैले नेतृत्वका विरुद्ध, क्रान्तिकारी विचारका विरुद्ध उभिन्छ भने त्यो उसको समस्या हो, पार्टीको समस्या होइन। कसैले विचारमा अग्रगामी बाटो समाप्न सक्दैन भनेर हामी त्यही अल्झिन सक्दैनौं। अघि बढ्ने कोशिसमा छौं।’

LIVE: १७ अौं कृष्ण सेन स्मृति दिवस-२०७६ तथा पुरस्कार वितरण समारोह। पेरिस डाँडा, कोटेश्वर,काठमाडौं । २०७६ जेठ १३ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Sunday, May 26, 2019