स्टार श्रेष्ठ÷युएई । ओमनको राजधानी मस्कटबाट झन्डै एक हजार किलोमिटर टाढा रहेको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ ।
त्यस्तै बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको पनि रहस्यमय मृत्यु भएको खुलेको छ । सुनिता सार्कीलाई भने प्रहरीले आत्महत्या गरेको अवस्थामा फेला पारेको थियो। दुवै खुट्टाको घुँडाले जमिनमा टेकेको अवस्थामा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले दुबै घटनाको गम्भिर रुपमा अनुसन्धान गरिरहेको ओमन स्थित नेपाली दूतावासले जनाएको छ।
अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो । दुबैको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको छ। प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई भने पक्राउ गरेको छ। २२ महिना अघि ओमन पुगेकी अस्सरा र सुनिता आफूले काम गर्ने ठाउँ छोडेर बंगालीसँग बस्दै आएको खुल्न आएको छ । कुवेतमा कार्यरत सुनिताका दिदीले दूतावासलाई जानकारी दिएअनुसार सुनिता मस्कटबाट भागेर सललाह पुगेकी हुन्। उनी भिजिट भिसामा ओमन पुगेकी थिइन।
ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुलीले भनिन्, ‘घटना सुन्दा रहस्यमय छ। प्रहरीले यसलाई निकै गम्भिरतापूर्वक छानबिन गरिरहेको छ ।’ घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको पनि राजदूत पराजुलीले जानकारी दिइन्।
प्रहरीले सुनिता झुन्डिएको कोठामा एक बंगाली महिलाको परिचयपत्र फेला परेकाले सुरुमा बंगाली नै भएको भन्दै स्थानीय निकायले बंगादेशको दूतावासमा खबर गरेको थियो । तर, पछि सुनिता नेपाली भएको खुलेपछि खबर गर्दा ढिलो खबर पाएको दूतावासले जनाएको छ ।



लाेकपाटी न्यूज
