धादिङ। नीलकण्ठ नगरपालिकाको वडा नं.–३ पुछार बजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन्। तर, उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन्। उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।
राधे भण्डारीको ग्रुपको चन्द्र गुरुङले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी राधे भण्डारीले हान्न लगाएको स्रोतले जनाएको छ। राधे पहिले कुमार घैटेंको ग्रुपमा थिए, अहिले पछिल्लो समयमा छुट्टिएका छन्। नीलकण्ठ नगरपालिका–१४ का चन्द्र गुरुङले खुकुरी प्रहार गर्दा नीलकण्ठ नगरपालिका–१३ का प्रकाश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। तिमिल्सिनाको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
मोटरसाइकलमा आएका गुरुङले बीच सडकमै खुकुरी लिएर तिमिल्सिनालाई लखेट्न थालेपछि बजारबासी त्रसित भएको प्रत्यक्षदर्शी दयाराम लम्सालले बताए। लगातार खुकुरी प्रहार भएपछि तिमिल्सिना भाग्दै छल्दै गरेकाले ठूलो घटना नघटेको उनले बताए। खुकुरी प्रहार गर्ने गुरुङ भने प्रहरी विट छेउबाट फरार भएका छन्। भाग्दै गरेका गुरुङलाई लखेट्दै प्रहरी गएपनि उनी पक्राउ परेका छैनन्।
बाटो बनाउने उपभोक्ता समिति निर्माणको क्रममा विवाद भएपछि आफ्नै साथीले खुकुरी प्रहार गरेको बुझिएको छ। नीलकण्ठ नगरपालिका १३ र १४ जोड्ने बाटो बनाउनका लागि प्रदेश सांसद रामकुमार अधिकारीमार्फत् बजेट विनियोजन गरिएको र उक्त योजना कार्यान्वयन गर्नको लागि उपभोक्ता समिति निर्माण गर्ने क्रममा विवाद बढ्दै गएपछि खुकरी प्रहार भएको स्थानीयहरुले बताएका छन्।
यसैबीच गुरुङलाई तत्काल पक्राउ गर्न माग गदै वाइसीएल र युवासंघले पुछार बजारमा आधा घण्टा चक्काजाम गरेको छ। दोषीलाई पक्राउ गरी तत्काल कारवाही गर्न माग गर्दै उनीहरूले विरोधस्वरुप चक्काजाम गरेका हुन्।



लाेकपाटी न्यूज

