प्राकृतिक विपतबाट २६ को मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

दाङ, १२ जेठ। प्राकृतिक विपतमा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ। जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपतमा परी उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिए। उनका अनुसार गत वर्ष सर्पदंशका कारण तीन महिला र तीन पुरुष गरी छ जनाको मृत्यु भएको थियो।

त्यस्तै करेन्ट लागेर पाँच, माटोको ढिस्कोले पुरिएर पाँच, आगलागीका कारण चार, पानीमा डुबेर दुई र चट्याङमा परी दुई जनाको मृत्यु भएको थिए। सो अवधिमा विपतमा परी ६ जना घाइते भएका थिए। विपतका कारण गत वर्ष जिल्लामा २१५ घरपरिवार विस्थापित भएको थिए। जसमा सबैभन्दा धेरै हावाहुरीका कारण ६५ घरपरिवार, आगलागीका कारण ९१, भारी वर्षात्का कारण ५८ र चट्याङका कारण एक परिवार विस्थापित हुनुपरेको केन्द्रका संयोजक खिलानाथ ढकालले जानकारी दिए।

गत वर्ष विपतका कारण जिल्लामा रु १२ करोड ७५ लाख एक हजार ५५० मूल्य बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। तीमध्ये अहिलेसम्म रु १२ लाख ५१ हजार जिल्ला प्रशासन कार्यालयमाफर्त पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको केन्द्रका संयोजक दाहालले जानकारी दिए।

उनका अनुसार प्राकृतिक विपत हावाहुरी, आगलागी, चट्याङ, वर्षात र पहिरोका कारण धेरै घर, गोठलगायत सरकारी संरचनामा समेत असर पुर्‍याएको छ। गत वर्ष जिल्लामा हावाहुरीका ६५, आगलागीका १०२, भारी वर्षातका ६०, करेन्टसम्बन्धी ११, पानीमा डुबेका ११, चट्याङसम्बन्धी आठ, सर्पदंश डसेका सात र बाढीका तीन गरी कूल २८० विपतका घटना भएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्