श्रीकृष्ण अधिकारी ‘विवेक’
सन् १९२१ स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि दीर्घकालीन सशस्त्र जन क्रान्ति सुरू गरी १९४९ मा चाङ्काईसेकको सत्ता ढालेर माओको नेतृत्वमा नयाँ जनवादी सत्ता स्थापना गर्यो। १९५४ बाट चिनियाँ कम्युनिष्ट पार्टीभित्र पूँजीवाद स्थिर रहने वा समाजवादमा अगाडि बढ्ने भन्ने विषयमा नयाँ बहस सुरू भयो। आधार र उपरिसंरचनाको बीचको अन्तरबिरोधलाई कसरी निम्ठ्याउने ? विषय पेचिलो बन्दै थियो।
माओ समाजवाद निर्माणको बाटोमा दृढ हुनुहुन्थ्यो, उहाँ रोकिने अवस्थामा हुनुहुन्नथ्यो। पार्टीभित्र पूँजीवादलाई सुदृढ गरेर जानुपर्छ भन्ने र नयाँ जनवादी सत्तालाई समाजवादमा बदल्नपर्छ भन्ने बहस घनिभूत हुँदै गयो। निजी सम्पत्तिमा हदबन्दी कायम गर्दै उत्पादनका साधन र उत्पादन सम्वन्धमा सुधारी, जमिनको पलटीकरण र उत्पादनका इकाईहरूमा सामूहिक र सहकारीकरण गर्ने प्रश्नमा चिनियाँ कम्युनिष्ट पार्टीमा मत बिभाजन हुन पुग्यो। देङ्साओ पेङ्गले भने, ‘बिरालो कालो, सेतो जे भए पनि मुसा मारे त भइहाल्यो। निजी सम्पत्ति रहन पाउनुपर्छ, विकाश गर्न समाजवाद भनिरहन आवश्यक छैन, पूँजीवादलाई नै सुदृढ गरौं।’
चिनियाँ कम्युनिष्ट पार्टीभित्र यो बहस चल्दै गर्दा आजको जस्तो विज्ञान र प्रविधिको विकास भइसकेको थिएन। त्यहाँ सर्वहारा वर्गको सुस्पष्ट विचार थियो, क्रान्तिकारी दृढ ईच्छाशक्ति र सर्वहारा श्रमजिवी वर्गप्रति समर्पित इमान्दार नेतृत्व थियो। नेनृत्वप्रति जनताको अपार विश्वास र भरोसा थियो। नेतृत्व र जनताको सम्बन्ध पानी र माछाको जस्तो थियो। कडा मेहेनत बिना समाजवादी अर्थतन्त्रको आधार बन्न सम्भव थिएन र पनि माओले प्रतिकूलताको जोखिम उठाउँदै, विशाल श्रमजीवी चिनियाँ जनता र क्रान्तिकारी नेतृत्वको एकत्वको बलमा समाजवादको आधार तयार गरियो।
चीनमा नयाँ जनवादी राज्यसत्तालाई सर्वहारा वर्गको अधिनायकत्व अनुरूप समाजवादी राज्यसत्तामा बदल्नका लागि माओको नेतृत्वमा रहेका समाजवाद पक्षधर क्रान्तिकारीहरूलाई चाहिने अन्तराष्ट्रिय समर्थन रूसी समाजवादी शिविरबाट प्राप्त हुन्थ्यो। सारतः देङसाओ फेङहरू चीनमा रहेका धनाढ्य, सीमित पूँजीपति वर्गका हितमा असर नपर्ने गरी सुधारवादी बाटो अपनाउन चाहन्थे। सजिलो सुधारवादको बाटो हिड्न चाहन्थे। तर, माओहरू बहुसंख्यक आधारभूत चिनियाँ श्रमजीबी जनताका हितमा समाजवाद निर्माणको कठिन यात्रामा अगाडि बढ्न चाहन्थे। पार्टीभित्रको दुईलाइन सङ्घर्ष चर्कदै अस्वस्थ हुँदै गयो। खराव विचारको प्रतिवाद गर्दै चीनमा कान्तिकारीहरूले विजय हासिल गर्दै गए। समाजवादी क्रान्तिको यात्रामा चीन गड्गडाएर अगाडि बढ्यो।
पार्टीभित्रको दुईलाइन सङ्घर्ष मत्थर भएन, अल्पमत र बहुमत हुँदै सर्वहारा साँस्कृतिक क्रान्तिसम्म पुग्यो। कहिले देङ्साओ पेङ्गहरू अल्पमतमा परे, कहिले माओ अल्पमतमा पर्नुभयो। माओ क्रान्तिकारी हुनुहुन्थ्यो, सर्वहारा श्रमजिवी वर्गको विचारमा दृढ हुनुहुन्थ्यो। नेतृत्व अलिकति मात्रै हड्बडाएर लर्खराउँदाको स्थितिमा चीनको नयाँ जनवादी क्रान्तिको उपलब्धी गुमेर पूँजीवादको कब्जामा जान्थ्यो। समाजवादको घाम चीनमा झुल्कन सम्भव हुँदैन थियो। आफू जीवित रहँदासम्म माओले महान सर्वहारा साँस्कृतिक क्रान्तिद्वारा पार्टीभित्रको खराव प्रवृत्ति पूँजीवादको फोहरमैलाहरू धोई पखाली गर्न सफल हुनुभयो र चीनमा समाजवादलाई सुदृढ पार्नुभयो।
प्रतिकूल परिस्थितिलाई अनकुलतामा बदल्न नेपालमा आज जति सुगम अवसर छ, त्यति अवसर लेनिन र माओलाई थिएन। आज विश्व परिस्थिति सारभुत रूपमा लेनिन र माओले परिभाषित गरेको प्रथम र द्वितीय विश्वयुद्धभन्दा फरक छ। साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध प्रधान हुँदाहुँदै पनि सूचना, सञ्चार र प्रविधिमा आएको अभूतपूर्व परिवर्तनले विश्वको अन्तरविरोधलाई एक हदसम्म नयाँ ठाउँमा पुर्याएर क्रान्तिकारी परिर्वतनलाई सजिलो बनाइदिएको छ।
माओले पूँजीवादवाट समाजवादमा संक्रमणको बहस गर्दैगर्दा समाजवाद निर्माणका लागि आजको जस्तो अवसर सुविधा भइदिएको भए कम्युनिष्ट सिद्धान्तलाई धर्मशास्त्रको रूपमा घोक्ने अवसर वैचारिक शुद्दताका नाममा रमाउने जडसुत्रवादी कम्युनिष्टहरू हुँदैनथे। अनुभवहरूबाट सिद्ध हुन्छ माओ वस्तुपरक र ब्यवहारिक हुनुहुन्थ्यो। माओमा न जडता थियो न बिचलन। उहाँले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै वस्तुगत परिस्थितिलाई काबुमा लिनुभयो र निर्भिकतापूर्वक अगाडि बढ्नुभयो। प्रतिकूलता सँग जुध्ने साहस माओले नगरेको भए सर्वमान्य नेता हुन सम्भव थिएन।
क्रान्तिपछि पराजित पूरानो सत्ताले प्रतिक्रान्तिको प्रयत्न गर्छ। क्रान्तिले एकपटक जितिसकेपछि पूरानो प्रतिक्रियावादी वर्गले केही समयसम्म गडबड गर्नु, असफल हुनु, फेरि गडबड गर्नु, फेरि असफल हुनु उसको दिनचर्या हो। नयाँ सत्ताले पूर्ण रूपमा जरो नगाड्दासम्म यसो गरिरहनु उसको नियति हुन्छ। प्रतिक्रान्तिको मुल खतरा बाह्य कारण मात्र प्रधान हँुदैन। मूख्य त आन्तरिक कारण नै प्रधान हुन्छ। नयाँ सत्ता आफ्नो मूल्य, मान्यता र प्रतिवद्धताबाट कमजोर भए प्रतिक्रान्तिको खतरा पैदा हुन्छ।
हिजो क्रान्तिका लागि लडेको बर्ग आज सत्तासीन भइसकेपछि उसमा क्रमशः वर्ग सङ्घर्षका मूल्य मान्यता, आदर्श र प्रतिवद्धताहरूमा चालै नपाइकन ध्यान कम हुन थाल्छ। कम्युनिष्ट पार्टीभित्र विचारधारात्मक सैद्धान्तिक प्रश्न कमजोर पर्न थाल्छ। कम्युनिष्ट मूल्य मान्यता आचरणमा स्खलन पैदा हुन्छ। विचारको ठाउँमा प्राविधिक विषय मूख्य बन्न थाल्छ। त्यहीबाट विचलनको मात्रा बढ्न थाल्छ। जानीजानी अवसरवादी बन्छु भनेर कुनै नेता वा कसैले पनि सोचेको हुँदैन।
नेता वा जो कोहीलाई पनि सहि गरिरहेको छु भन्ने लाग्दालाग्दै चालै नपाइकन उसभित्र अवसरवादी सोचले घर जमाउन सुरू गरिसकेको हुन्छ। निरन्तर क्रान्ति माओले लहडमा भन्नुभएको होइन। पार्टीभित्र पैदा हुने यही मनोरोगको निवारणका लागि भन्नुभएको हो। पिचारको प्रष्टताबिना जुनसुकै नेताको भावना जतिसुकै पवित्र भए पनि ऊ अवसरवादको घेराबाट उम्कन सम्भव हुँदैन। क्रान्तिकारी विचार जस्तै प्रतिक्रान्तिकारी सोंच पनि आकाशबाट गड्गडाएर वर्षने होइन, बाजा गाजा बजाएर, हल्ला खल्ला गर्दै उफ्रदै आउने कुरा पनि होइन। यो अत्यन्तै सुषुप्त, शान्त, शालिन र मन्ध भएर कलात्मक हिसाबले व्यक्तिको अन्तरहृदययमा बिजारोपण भएर अंकुराउन थाल्छ।
प्रतिक्रान्तिकारी सोच भनेको मुख्यत वैचारिक प्रष्टतामा स्खलनको बिचलनवाट पैदा हुने हो। कम्युनिष्ट मूल्य, मान्यता, आदर्श र आचरणमा बिचलन हो। संस्कार, संस्कृति र शैलीमा बिचलन हो। संस्कृतिमा बिचलन हो। चीनमा समाजवाद स्थापना वा पूँजीवाद भन्ने पार्टीभित्रको दुईलाइन सङ्घर्षमा विचारधारात्मक शुद्दिकरण र पार्टीभित्रको गलत आचरणका विरुद्ध साँस्कृतिक क्रान्तिमा माओले दृढ नेतृत्व लिनुभयो। उहाँले पूँजीवादका विरुद्ध विचारधारात्मक सङ्घर्षमार्फत् मार्क्सवाद लेनिवादको रक्षा र विकाश नगरेको भए दुनियाभरिका कम्युनिष्टहरूले माओका विचार र योगदानको चर्चा, सम्मान र अनुशरण गर्ने थिएनन्। माओप्रति श्रमजीवी वर्गको सम्मान श्रद्धा त्यो उचाइबाट हुने थिएन।
आत्मगत रूपमा प्रतिक्रान्ति टाल्ने मुल हतियार भनेको सही विचार र नेतृत्व हमेसा सही र इमान्दार भइराख्ने कुरा नै हो। विचारधारात्मक प्रष्टताको जगमा नेतृत्व निरन्तर परिक्षित, परिस्कृत, गतिशील निर्भिक भइराख्नुपर्छ भन्ने कुरा आजका कम्युनिष्ट नेतृत्वले माओबाट सिक्ने कुरा हो। माओ सिद्धान्तमा जति दृढ देखिनुहुन्थ्यो, व्यवहारमा त्यति नै सरल हुनुहुन्थ्यो। पूँजीवाद र समाजवादको बीचको त्यति भीषण विचारधारात्मक लडाइमा चिनियाँ कम्युनिष्ट पार्टी फुटेर दुई टुक्रा भएको इतिहास चीनमा पाइँदैन। माओ आफ्ना सीमा र कमजोरीबारे आत्मआलोचित हुनुहुन्थ्यो। चाउएनलाई, ह्वाकोफेङ र देङसाओ पेङ्का विचारहरू उहाँ राम्रोसँग सुन्नु हुन्थ्यो र काम लाग्ने जति सहज रूपमा ग्रहण गर्नुहुन्थ्यो।
आज हामी नेपालको मौलिकतामा पूँजीवादी जनवादी क्रान्तिको आधारभूत चरण पार गरी समाजवादी क्रान्तिको आधार तयार गर्ने चरणमा प्रवेश गरेका छौं। नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हो। आजको कम्युनिष्ट आन्दोलनभित्र हाम्रो मुल बहसको प्रश्न भनेको पूँजीवादको यथास्थितिमा अड्कने कि समाजवादी क्रान्तिको तयारीको यात्रामा दृढतापूर्वक अगाडि बढ्ने भन्ने हो। समाजवादको चर्चा हुन थाल्दा हामीभित्र उठ्ने विषय पूँजी, प्रविधि, सूचना र सामरिक दृष्टिले विश्व पूँजीवादमा संकेन्द्रित छ। साम्राज्यवाद बलियो छ भन्ने तर्क आउँछ। जुन आजको वस्तुगत यथार्थता मेल खाँदैन। प्रविधिको विकासले वर्गको खाडल साँघुरिएको छ। पश्चिमा दबदबामा स्खलन सुरू भएको छ। पश्चिमा आर्थिक केन्द्र पूर्व सरिरहेको छ। पश्चिमा बजारको एकाधिकार तोडिएको छ। युरो र डलरमा असन्तुलन पैदा भएको छ।
कार्ल मार्क्सको पूँजीका पुस्तकहरू पश्चिमा बजारमा धेरै खपत भइरहेको छ। मार्क्सवादी अर्थशास्त्रको माग चौगुना बढेर गएको छ। आज संकट र अभाव उत्पीडित राष्ट्र र वर्गलाई मात्र होइन, संकट पूँजीवादी शक्तिहरूमा मडारिँदै गएको छ। आज साम्राज्यवाद बजार नियन्त्रणको सन्तुलनका लागि सङ्घर्षमा भन्दा सम्झौतामा हात बढाइरहेको छ। सूचनाको दृष्टिले कसका विरुद्ध, कसले के खेल रचिरहेको छ भन्ने कुरा निमेशभरमा विश्वका लाखौं, करोडौं र खरबौंले थाहा पाउने विषय बनिसकेको छ। जनता सचेत, जागरुक र चेतनशील र विश्लेषणको क्षमता राख्ने भइसकेका छन्। आजको विश्वका अन्तरविरोधको निकास पूँजीवादले होइन, समाजवादले मात्र दिन सक्छ भन्ने कुरामा विश्वको आम जनमत सहमत हुँदै गएको छ।
नेपालमा यतिबेला दक्षिण एसियाकै ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार चलाइरहेको छ। हजारौं नेता, लाखौं कार्यकर्ता र करोडौं जनताको समर्थन (नेकपा) लाई छ। दुईतिहाईको बहुमतको सरकार नेकपाको नेतृत्वमा चलिरहेको छ। बिगत ६० वर्ष यता नेपालको इतिहासमा यो अवसर कम्युनिष्टहरूलाई आएको थिएन। ढंग नपुगे, गुटगत स्वार्थमा अल्झिए वा दम्भले उम्लिए सधैं यो अवसर प्राप्त हुँदैन। नेकपाका नेतृत्व र कार्यकर्ताले यो ऐतिहासिक अवसरलाई बचाई राख्न सक्नुपर्छ।
महान् सहिदहरूलाई सम्झेर वर्ग पक्षधरता र कम्युनिष्ट मूल्य, मान्यता, आदर्श र प्रतिवद्धतालाई शिरोधार्य गरेर गम्भिर र जिम्मेवारीका साथ मन, वचन र कर्ममा जनतामा समर्पित हुन सक्छौं वा सक्दैनौं ? यसैमा देश र जनताको भविश्य निहित छ। रूप र संख्यामा रहेको यति ठूलो र भीमकाय पार्टीलाई ‘मास–बेश’बाट माथि उठाएर कार्यकर्ता बेश पार्टीमा बदल्दै एउटा स्प्रष्ट वैज्ञानिक समाजवादी विचार दृष्टिकोण सहितको गुणमा बदल्ने आँट गर्छौं कि गर्दैनौं ? यसैमा हाम्रो भविश्यको फैसला हुनेवाला छ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा सञ्चालित सरकारको पहिलो वर्ष जनताले विकास र सुशासनका लागि आधार निर्माणको वर्षका रूपमा विचारिरहेको छ। अब आउने बजेटमा समृद्ध नेपाल र सुखी नेपालीको नाराले मुर्तरूप लिने, समाजवादको आधार निर्माण केन्द्रित हुने, उप्पादकत्व बढाउने, आधरभूत वर्गलक्षित, राष्ट्रिय अर्थतन्त्र निर्माणमा टेवा पुग्ने जमिन, जल, जडीबुटी, जंगल, पर्यटन विकासमूखी बजेट, जो सामाजिक न्याय, समताउन्मूख होस्, पस्कन सक्छौ कि सक्दैनौं ? यसैमा हाम्रो भोलिको भविश्य निहित रहन्छ। किन ‘चाउरिइस् मरिच आफ्नै रागले’ भन्याजस्तो आफै खुम्चिने बुद्धि आजका कम्युनिष्ट नेताहरूले गर्नु हुँदैन।
महान् सम्भावना, ऐतिहासिक चुनौति ईतिहासले सुम्पेको अति नै ठूलो जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी नेता कार्यकर्ताको काँधमा छ। गाजेमाजे सोचले यो भीमकाय यात्रा पाार गर्न असम्भव छ। वैज्ञानिक समाजवादी विचारको विकास, संगठनको शुद्दिकरण, सुदृढीकरण र साँस्कृतिक आचरणमा रूपान्तरणको प्रश्न नेकपाभित्र आजको ज्वलन्त आवश्यकता हो। हामी बदलिएर, कष्टसाध्य उकाली चढेर मात्र शिखर चुम्न सकिन्छ।



लाेकपाटी न्यूज

