जीवनका आरोह अवरोहमा सुरज उपाध्याय

suraj upadhyaya sanjiv paudel
अचानक आफ्नो छोराको फोटो पत्रिकामा देखिन्। अत्यन्त खुसी भइन्। पत्रिका बोकेर गाउँका सबैलाई छोराको फोटो देखाउन भ्याइन्। यता उनको मोबाइलमा आमाको फोन आयो। उनले फोन उठाए। फोनमै आमा रोइन्। खुसीका आँसु खसालेर आमा फोनमै रुँदाखेरि आफूलाई जीवनमा केही असल काम गरेको महसुस भएको बताउँछन् उनी। यो सन्दर्भ उनले पोखरामा सञ्चालित ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ पाउँदाखेरिको हो।
लाेकपाटी न्यूज

– सञ्जीव पौडेल

आजको समय, एक आम युवा। यस्तो होस् कि ऊ कसैको पनि कुरा नकाटोस् र कसैले पनि उसको खास कुरा नकाटुन् तर पनि ऊ सार्वजनिक जीवन बाँचिरहोस् । के यो सम्भव छ ? झट्टै उत्तर आउँछ – सम्भव छैन। तर कोही मानिस यस्तै अपवाद बन्छन्। सायद यी र यस्तै अपवादहरूले नै यो सृष्टिलाई रहस्यमयी बनाइदिएका हुन्छन् । आमाको कोखलाई धन्य बनाइदिन्छन्। आउने पुस्तालाई जीवनको पाठ सिकाइदिन्छन् र बाँचिरहन्छन् सदासदा फोक्सोलाई अक्सिजनजस्तै प्रिय बनेर सयौँ मुटुहरूमा।

राजधानीपछिको अर्को राजधानी सहर ‘पोखरा’। सङ्घीयता लागु भइसकेपछि गण्डकी प्रदेशको राजधानी नै हो पोखरा। यही पोखराका गल्ली गल्लीमा वा भनौँ सडक सडकमा लगभग लगभग सडक बालककै तरिकामा यताउती हिँडिरहन्छन् उनी। जति जति पोखराका सडक उनका पाइलाले नाप्छन् उति उति उनको विचारका ज्वारभाटा मनमा उठ्छन्। यिनै ज्वारभाटा कहिले कविता बनेर कापीका पानामा पोखिन्छन् त कहिले मुक्तक/गजल बनेर मोबाइलका ‘नोट प्याड’मा टङ्गण हुन्छन्। कहिले सडकको तातोले उनलाई तताउँछ त कहिले सडक चिसिएर उनको मस्तिष्क ठण्डा ठण्डा बनाउँछ। यही तात्ने सेलाउने  क्रममा कहिले सडक बालकका जीवनचर्याले यिनलाई रनाहामा पार्छ त कहिले देशको बेथितिले बौलाहाझैँ बनाउँछ। मनभित्र जतिजति विचारको आँधी उठे पनि वा विद्रोहको सुनामी नै आए पनि यिनी बाहिर मुसुक्क मुस्कुराइदिन सक्छन्।

मान्छेले उनीभित्रका झुपडीदेखि सिंहदरबारसम्मका गतिविधिको सूक्ष्म विश्लेषण क्षमताको अनुमान सम्म पनि लगाउन सक्दैनन्। हेर्नेहरूको नजरले उनको वास्तविक क्षमताका अगाडि जहिल्यै सजिलै घुँडा टेक्छ। कोही जब उनीसँग समाजका सामान्य दिनचर्यादेखि राजनीतिसम्मका छलफलमा अग्रसर हुन्छन् तब उनको वैचारिक चेत जोकोहीमाथि हस्तक्षेपकारी बनेर प्रस्तुत हुन्छ। मान्छेहरू उनको वैचारिक अडान देखेर र विश्लेषणात्मक क्षमता देखेर हायलकायल हुन्छन्। तर उनी जहाँकहीँ र जो पायो त्यहीसँग आफ्नो यो क्षमता प्रस्तुत गर्दैनन्। यसलाई हेर्दा के भन्न कर लाग्छ भने ‘सादा जीवन उच्च विचार’को एक ज्वलन्त उदाहरण खोज्ने हो भने हरेक शिक्षकले विद्यार्थीका अगाडि यी मनुवालाई लगेर उभ्याइदिए मात्र पुग्छ।

सुरुमा उनलाई भेट्ने हर मानिसले उनलाई सरल स्वभावको पाउँछ। उनी छन् पनि सरल र त यो सम्भव छ। उनको यो सरलताले ससाना बालबालिकासँग गट्टा खेलाउँछ, गुच्चा खेलाउँछ, नचाउँछ, गीत गाउन बाध्य बनाउँछ। साना नानी देखेपछि उनको बालसुलभ चेतना एकाएक जागृत भएर आउँछ। उनी कति छिट्टै बालक बनिदिन सक्छन्। कहिलेकाहीँ जरुरी काममा साथीसँगै हिँडिरहेको छ, उनी बाटोमा ‘अङ्कल’ भन्ने बालक भेटेनासाथ उसैसँग खेल्न थाल्छन्। यस्तो गर्दा यिनले कयौँपटक आफ्नै साथीको गाली भेटेका छन्। साथीहरू यिनीसँग रिसाए पनि या खुसाए पनि यिनी सधैँ एकोहोरो मुस्कान छरिरहन्छन्। साथीहरू यिनलाई अजीव ठान्छन्। यिनको बालसुलभ चेतनाले सयौँ बालगीत जन्माइसकेको छ। देशप्रेम र माटो प्रेमले हजारौँ कविता/गीत जन्माइसकेका छन्। राजनीति चेतले विद्रोही स्वरका आलेखहरू जन्माएका छन्। यति मात्रै हो र उनी गजलहरूमा उत्तिकै प्रेमिल देखिन पनि खप्पिस छन्। उनका लघु कथाहरूमा समसामयिक व्यङ्ग्य र विद्रोहको वैचारिक ज्वाला दन्किरहन्छ।

जीवनको बाटो एक्लै हिँड्ने क्रममा आजभन्दा दुई दशकअघि स्याङ्जादेखि पोखरा पायल चप्पल पड्काउँदै झरेका यिनले करिब दुई वर्ष सडकबालकझैँ थोत्रो गुन्द्रीमा रात गुजारे। यही समय थियो जतिबेला उनी आफ्नो छाक टार्न प्रायजसो साँझ न्युरोड क्याफे पुग्थे। जहाँ कृष्ण उदासी, प्रकट पगेनी ‘शिव’ र दीपक समीप चिया खाँदै साहित्यिक गफ चुटिरहेका हुन्थे। त्यहीँ आडमै उनी पुग्थे, अभिवादन गर्थे, अलक्क बस्थे। चिया आइपुग्थ्यो उनका अगाडि। उनी सोध्दै नसोधी पसलमा भएको बिस्कुट/पाउरोटी तान्थे र चियामा डोब्दै खान्थे। उनी यसरी नै आफ्नो साँझको गर्जो टार्थे। यसो गर्दा उनलाई पेटको खुराक त मिल्थ्यो मिल्थ्यो साहित्यिक भलाकुसारीबाट साहित्यिक खुराक पनि उत्तिकै प्राप्त हुन्थ्यो।

एकपटक उनीसँग एकजना साथी डेरामा सँगै बस्थे। साथी दुःखसँग जुध्नदेखि डराएर एकाएक आफ्नो कुम्लो पोको पारेर टाप कस्यो। घरबेटीले भाडा नतिरेको भन्दै कोठामा ताला ठोकिदिए। कोठामा पुगेका उनी त्यो दृश्य देख्नासाथ त्यहाँबाट फरक्क फर्केर मामाको घरमा पुगे र एक रात त्यहीँ बसे। भोलिपल्ट सरासर साहित्यकार कृष्ण उदासीकहाँ पुगे। खाना त्यहीँ खाए, आफ्नो अप्ठेरो सुनाए, उदासीले केही नबोली केही रकम र आफ्ना साहित्यिक कृतिहरू दिएर पठाए। उनी सरासर गृहजिल्ला स्याङ्जाको वालिङ हानिए। सिधै इलाका प्रशासन कार्यालय वालिङमा कार्यरत गाउँकै काका पर्ने याम प्रसाद सुवेदीको निवासमा पुगे र एक रात त्यहीँ बिताए। गर्विलो छाती बोकेर साहित्यिक पुस्तक बिक्री गर्न एक समितिमार्फत आफू स्याङ्जा खटिएको कुरा सुनाए। भाोलिपल्टै काकाको सहयोगमा विद्यालय विद्यालयमा पुगे र धमाधम पुस्तक बेचे। गोजीमा आठ/नौ हजार जम्मा गरेर सिधै घरबेटीका अगाडि पुगेर ‘दाइ मेरो कोठा भाडा कति भयो हिसाब गर्नुस्’ भने। भाडा बुझाए र आफ्ना सामान लिएर घरबेटीलाई पुलुक्क पनि नहेरी फटाफट निस्के। अति कष्टपूर्ण अवस्थामा पनि स्वाभिमानलाई लिलामी राख्न नसक्ने र कसैसँग झुक्न नसक्ने उनको यही हकी स्वभावका कारण उनी आज जहाँ छन् र जसरी छन् ससम्मान छन् साथै खुसी पनि।

विद्यालय जीवनमै राजनीतिमा सक्रीय उनी अनेरास्ववियुको स्याङ्जा क्षेत्र नं. १ को अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्यसम्म भइसकेका थिए। यस दौरानमा विभिन्न विद्यालयमा सङ्गठन विस्तारमा उनी सक्रीय थिए। उनले सङ्गठित गरेका विद्यार्थी अहिले गाउँपालिका अध्यक्षदेखि लिएर जिम्मेवार ठाउँमा सक्रीय छन्। जिल्ला कमिटीको एउटा बैठकमा मत विभाजन भएपछि उक्त बैठक छोडेर हिँडेका उनी कहिल्यै अनेरास्ववियुमा फर्केनन्। उनलाई अनेरास्ववियुको झण्डाको गीतको लय सिकाउनेहरू अहिले मन्त्री भइसकेका छन्। उनी भने हिजो जहाँ थिए, आज पनि त्यहीँ छन्। र पनि उनलाई कसैसँग केही गुनासो छैन। भन्छन् –‘नेपालको राजनीति कमाई खाने भाँडो रैछ, मलाई राजनीतिमा लागेर कमाउन मन परेन’। उनी बरु चुपचाप जागिर गरिरहे र साहित्यमा कलम कोरिरहे।

उनलाई राजनीतिक चेतले कहिल्यै छोडेन तर सक्रीय राजनीतिले भने काखी च्यापेन। अलि क्रान्तिकारी स्वभावका उनलाई न पार्टीले रुचायो न त उनले नै पार्टीलाई रुचाए। लुकी लुकी जनादेश साप्ताहिक पढ्दै जाँदा बिस्तारै उनको विद्रोह चेतले उनलाई माओवादी पार्टीसँग नजिक गरायो। त्यहाँ पनि विचारको खडेरी पर्दा मात्रै उनी काम लागे। छक्का पञ्जा गर्ने क्रममा उनी पार्टीबाट ओझेल परे। निर्भीक र स्पष्ट वैचारिक अडान बोक्ने उनी आफूले जनयुद्धका क्रममा आश्रय दिएका साथीहरू माथि माथि पुग्दा समेत कुनै गुनासो गर्दैनन्। आफ्ना कामप्रति आफैँ गर्व गर्छन् र सन्तोषको सास फेर्छन्।

विद्यार्थी जीवनमै हो उनले हवाई पत्रिका निकाल्ने गरेको। ‘वेदना’ नामक हवाई पत्रिकाको सम्पादन गरेर देशव्यापी साहित्यिक परिचय स्थापित गरेका उनका थुप्रै पत्रमित्र साथीहरू पनि थिए। त्यसै क्रममा जोडिएका उनका पत्रमित्र साथीहरू कोही पछि पोखरामा आएर एउटै कार्यक्रममा भेटिए। कोही पछि फेसबुकमा जोडिए। केही भने समयका अन्तरालमा कहीँ कतै छुटे र ओझेल परे। उनी गर्व गर्छन् कि त्यति बेलाको मित्रताले आज पनि उनलाई विभिन्न अभियानहरूमा साथ दिइ नै रहेको छ। यस्तै निरन्तर साथमा रहेको पुरानो मित्रताको नाम हो ‘रुपिन्द्र प्रभावी’ । दुई वर्षसम्म ‘वेदना’ साहित्यिक पत्रिका चलाएका उनी आफूलाई चर्चित साहित्यकार व्याकुल माहिला समेतको रचना हुलाकमार्फत प्राप्त हुने गरेको सम्झन्छन्। अन्य स्कुले साथीहरू पढ्नका लागि विद्यालय जाँदा उनी रचना सङ्कलन गरेर पत्रिका छाप्न पोखरा झर्थे । त्यतिबेला पोखराको सुदीप अफसेट प्रेसमा हवाई पत्रिका लिएर जाँदा सुरुमा छाप्न अन्कनाएको र गाउँले बालकको उत्साह देखेर छापिदिएको कुरा उनी सम्झन्छन्। पेशाले शिक्षक रहेका उनका पिता छोराको यो चाला देखेर रिसले आगो हुन्थे। यस्तै विविध कारणले बाबुछोराको बिचमा भनाभन पनि चल्थ्यो।

एक दिन उनकी आमा नुनतेल किन्न फेदीखोला बजार झरिन्। पसलमा रहेको पत्रिका पल्टाइन्। अचानक आफ्नो छोराको फोटो पत्रिकामा देखिन्। अत्यन्त खुसी भइन्। पत्रिका बोकेर गाउँका सबैलाई छोराको फोटो देखाउन भ्याइन्। यता उनको मोबाइलमा आमाको फोन आयो। उनले फोन उठाए। फोनमै आमा रोइन्। खुसीका आँसु खसालेर आमा फोनमै रुँदाखेरि आफूलाई जीवनमा केही असल काम गरेको महसुस भएको बताउँछन् उनी। यो सन्दर्भ उनले पोखरामा सञ्चालित ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ पाउँदाखेरिको हो। यसरी साहित्यमा विद्यालय जीवनबाटै लागेर उनले धेरै कुरा गुमाए तर उनलाई गुमाएको भन्दा कमाएको चिज नै प्रिय लाग्छ। एक्लै बाटोमा हिँड्दा गीत गुन्गुनाउँदै हिँड्ने उनी प्रायः गाउँहरू डुल्न र गाउँकै परिवेश र गाउँले जीवन नियाल्न मन पराउँछन्। मानिसका जिन्दगीका विविध रङ्गहरूलाई शब्दमा उतार्छन्। कहिले आफैँ शब्द बन्दछन् त कहिले शब्द बन्दा बन्दै आँसुका गीत बनेर उनी भावनामा पोखिन्छन्।

सङ्घर्ष, सरलता र शालीनताका प्रतिमूर्तिका रूपमा पोखरेली साहित्यिक परिवेशमा निरन्तर क्रियाशील यी स्रष्टाको जीवनबाट हामीले थुप्रै प्रेरणाका पाठ सिक्न सक्छौँ। उनी कुनै साहित्यिक संस्थाको पदमा बस्न पाऊँ भन्दै कसैको दैलो चाहरेनन् न त कुनै पुरस्कारको लागि कसैसँग कानेखुसी र भट्टीगफ नै गरे। वि.सं. २०६० सालमै गजल सङ्ग्रह ‘तिम्रो मन फर्किएन’ प्रकाशन गरेका उनको ‘चिल उड्यो आकाशमा’ नामक बाल कविता सङ्ग्रह (२०७१) पनि प्रकाशित छ। उनको जीवन भोगाइका एक एक अनुभूति साहित्यका माध्यमबाट आस्वादन गर्न बजार आतुर छ।

रित्तो हात घरबाट निस्केर सामान्य मजदुर जिन्दगी बाँच्दै आज उनी नेपालकै प्रतिष्ठित व्यापारिक कम्पनि नेबिकाे प्रा.लि.को ‘सिनियर सेल्स अफिसर’ सम्म बन्न सफल भएका छन्। निरन्तरता र पाखुरीको पौरखमा विश्वास गर्नेहरूले जिन्दगी इन्द्रेणीजस्तै रङ्गीन बनाउन सक्छन्। यही यथार्थ बाँचेका उनका थुप्रै जिन्दगीका पाटाहरू खुल्न बाँकी छन्। ती जीवनका आरोह अवरोहहरू खुल्दै जाऊन्, जीवनमा खुसीका लालुपाते र सुनाखरी फुल्दै जाऊन्। ढ्ङ्गाको काँपबाट हुर्केको पिपलजस्तै जीवन बाँचिरहेका सुरज उपाध्यायप्रति र उनको थप सिर्जनशील र सङ्घर्षशील जीवनको सफलताको शुभकामना !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्