चितवन, ११ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमूख आतिथ्यमा चितवन भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित पर्यटक प्रहरी कार्यालयको शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीको प्रयोगको लागि ६ थान सञ्चार सेट तथा ६ थान मोटरसाईकल समेत सो कार्यलयलाई हस्तान्तरण गरे।
कार्यालयको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटकीय नगरीमा पर्यटकको सुरक्षा, सेवा र सुविधाको लागि छिटै सिसिटिभि जडानको लागि पर्यटन मन्त्रालय, महानगरपालिका तथा जिल्ला प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आगडी बढ्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्रलाई सुरक्षित र शान्त बनाउन पर्यटन व्यवसायीको सहयोग रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वाधार निर्माण लगायत अन्य कार्यमा आइपर्ने समस्या समाधान गर्ने प्रहरी सदैव तयार रहेको समेत बताए।
समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रण गर्दै सभ्य समाज निर्माणको लागि स्थानीय जनतासँग हातेमालो, सहकार्य एवम् समन्वय गर्दै आगाडि बढ्नुपर्ने उनले बताए। प्रहरी अब पहिलेको जस्तो नभई सबैसँग सहकार्य गर्दै आगाडि बढेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने, “ प्रहरीले गल्ति गर्न पाउँदैन, गल्ति हुन नदिन हामी पूर्णरुपमा प्रतिबद्ध छौं । ”
प्रहरीलाई नागरिकसँग घुलमिल गराउन सहयोग र सहकार्य अभिवृद्धि गर्न नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी मार्फत समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रण गर्न विभिन्न सामाजिक कार्यक्रम गरिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीले कसैको भरोसामा नपरी निष्ठापूर्वक काम गर्नुेपर्ने उल्लेख गरे।
पटिहानीस्थित रहेको पटिहानी गाविसको पुरानो वडा कार्यालय भवनमा पर्यटकहरुको सुरक्षाको लागि पर्यटक प्रहरी कार्यालयको स्थापना भई उक्त कार्यालयले आजैबाट सेवा प्रवाह गरेको छ ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक केदार रिजाल, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमूख, स्थानीय संघसंस्थाका पदाधिकारी, समाजसेवी लागयत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज

