अवैध हातहतियार र लागूऔषधसहित १३ पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, ९ जेठ । प्रहरीले अवैध हातहतियार र लागूऔषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्देश्यका साथ आएका भारत समस्तीपुर ग्राम पञ्चायत सतपुर बस्ने २६ वर्षीय रबि मल्लिक समेत ७ जनालाई विभिन्न हातहतियार सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा प्रहरी प्रधान कार्यालय बिशेष ब्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । साथै नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजेपश्चात प्रहरीले जवाफी फायर गर्दा रबि मल्लिक घाइते भएका छन् । जवाफी कारवाहीमा दुवै तिघ्रा र दाँया खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रबि मल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको साथबाट पेस्तोल १ थान, गोली २ राउण्ड, म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोटरसाइकल २ थान समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पर्सा बुधनगर गाउँपालिका–८ घर भएका २४ वर्षीय अकलेस दास थारु र २४ वर्षीय गौरीशंकर ठाकुरलाई अवैध लागूऔषध खैरो हिरोईन ४.१९ ग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौं आउँदै गरेको बा.७ ख २७४२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ उनीहरुलाई सोधपुछ गर्ने क्रममा उक्त लागूऔषध शम्भु तथा सोनाम भन्ने व्यक्तिले मगाएको भनि बताएकोले महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुको खोजी गर्ने क्रममा लागूऔषध लिन कुरेर बसेको अवस्थामा फेला पारी पर्सा जगन्नाथपुर घर भई काठमाडौं मुलपानी बस्ने २६ वर्षीय जयकिशोर ठाकुर र कैलाली धनगढी घर भएका २४ वर्षीय किरण लामा र बौद्ध बेंसीगाँउ घर भएका २२ वर्षीय रिकी लामा समेतलाई पक्राउ गरेको छ ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका–२४ रामगढवाबाट सोही महानगरपालिका–१९ बस्ने ३२ वर्षीय रुपनारायण यादवलाई अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना.१ ह ९७६५ नम्बरको अटो रिक्शा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्