पाँचथर हत्याकाण्ड : ९ जनाकै शव पोष्टमार्टमका लागि धरान लगियो

pachathar pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। पाँचथरको आरुबोटेमा सामुहिक हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ।

हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो। घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ।

हत्याकाण्डमा ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले गर्ने भएको छ।विराटनगरस्थित मन्त्रालयको कार्यालयद्धारा जारी विज्ञप्तीमा सो क्रुर र बर्बरतापूर्वक भएको घटनामा घाइते भएर उपचार गराइरहेकी १२ वर्षकी सीता खजुमको उपचार व्यवस्था सरकारले व्यहोर्ने भएको हो।

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुन सक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

श्रीमती मनकुमारी फियाकसँग सम्बन्ध विच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ ७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका परिवारका ९ सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ।

सम्बन्ध विच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ ३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको सोमबार राति विभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्