टिकटक सेलिब्रेटी ट्रेनरको गोली हानी हत्या

mohit_C1LdUvhpji
लाेकपाटी न्यूज

एजेन्सी। टिकटकका सेलिब्रेटी जिम ट्रेनरको गोली हानी हत्या गरिएको छ। मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ।

उक्त घटना मंगलबार बिहान सवा पाँच बजेको हो। मृतकको नाम मोहित मोर बताइएको छ। घटनाका बेला उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा गएका थिए। एक पुलिस अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले भनेको छ, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले।

उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे। उनलाई सातवटा गोली लागेको थियो।’ पुलिसका अनुसार घटनामा संलग्न तीन हमलाकर्ताले कालो रङको हेलमेल लगाएका थिए। उनीहरु एउटा स्कुटीमा आएका थिए। सिसिटिभी फुटेजमा उनीहरु एउटा गल्लीबाट भागेको देखिएका छन्। एक पुलिस अधिकारीले भने, ‘हामी आरोपीलाई पहिचान गर्ने कोसिस गरिरहेका छौं। सुरुवाती अनुसन्धानमा यो आपसी द्वेष र पैसाको विवादको मुद्दा देखिन्छ।’

मोहितको टिकटक र इन्स्टाग्राम अकाउन्टका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ। यसमार्फत्, सोसल मिडियामा उनको कसैसँग दुश्मनी त थिएन भनेर जान्ने कोसिस गरिँदै छ।