भोजपुर, ८ जेठ। प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता मारिएका छन्। भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका २ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो। घिमिरेको तिघ्रामा गोली लागेको थियो।
३२ वर्षीय घिमिरे षडानन्द नगरपालिका २ कुदाककाउलेका हुन्। प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ। भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताए ।
केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको छ । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।



लाेकपाटी न्यूज

