दाङ, ६ जेठ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन्। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे।
उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गरेका छन्। राज्यले पनि नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको उनले सरकार तानाशाही बाटोमा जान नहुने बताए। वरिष्ठ नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारबाही हुनुपर्ने बताए।
सरकारले सबै ठीक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुवै दृष्टिकोण आफूलाई चित्त नबुझेको उनले बताए। उनले पार्टीको पोलिटव्युरो गठनलगायत कार्यविभाजनको काम निकट भविष्यमा हुने विश्वास व्यक्त गरे।


लाेकपाटी न्यूज

