लोकसेवा परीक्षा पास गर्ने १० अचुक सुत्र

Lok sewa
लाेकपाटी न्यूज

काठमाडौं। जुनसुकै परीक्षा किन नहोस्, परीक्षा भन्ने बित्तिकै अधिकांशलाई तनाव हुन्छ। तर, नपढेर भन्दा पनि पढ्न नजानेर अनुत्तीर्ण हुनेहरु धेरै छन्। यसो त धेरैलाई पढ्ने तरीका पनि थाहा छैन। हामीले सामान्य तरीकाले उत्कृष्ट नतिजा ल्याउने केही टिप्स् उल्लेख गरेका छौं।

परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने आफ्नो पढाइको वातावरणलाई राम्रो बनाउन आवश्यक छ। सही समयमा पढ्नु निकै आवश्यक त छ नै, पढ्ने क्रममा अरु धेरै कुराहरुलाई ध्यान दिन समेत जरुरी छ। यी हुन् लोक सेवा पास गर्ने १० सुत्र।

१) आफू पढ्न बस्ने कोठा उज्यालो र सफा राख्नुहोस्। तपाईको कोठा सफा र उज्यालो छ भने पढाइमा मन एकाग्र हुन्छ। त्यसले राम्रो नतिजा ल्याउन मद्दत मिल्छ।

२) लगातार नपढ्नुहोस्। कम्तिमा आधा एक घण्टामा फ्रेस हुनुहोस्। जसको लागि तपाई आफूलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ। यसबाहेक हल्का हावामा हिँडडुल गर्दा पनि हुन्छ।

३) नियमित नुहाउनुहोस्। यसले तपाईंको स्वास्थ्यलाई निकै राम्रो गर्छ र ज्यानलाइ तन्दुरुस्त राख्छ। बीचमा रोकिएर अध्ययन गर्दा पढेको कुरा स्मरण गर्न पनि सजिलो हुन्छ।

४) पानी प्रशस्त पिउनुहोस्। पढ्ने क्रममा तपाईंको शरिरमा भएको धेरै शक्ति नाश हुने हुनाले पनि पानी प्रशस्त पिउनुपर्छ। पानी प्रशस्त पिउनाले मुड फ्रेस राख्नुका साथै अध्ययनप्रति रुचि बढ्छ।

५) अध्ययन गर्ने कोठामा टेलिभिजन नराख्नुहोस्। तर, ताजा जानकारी तथा समाचारको लागि रेडियो टेलिभिजन हेर्नुहोस्। विशेषगरी लोकसेवाको तयारी गरिरहेकालाई यो टिप्स काम लाग्छ।

६) बेला बेलामा पढेका कुराबारे साथीहरुसँग छलफल गर्नुहोस्। एकोहोरो अध्ययनभन्दा छलफल र अन्तरक्रियाले बढी ज्ञान दिन्छ। छलफलमा अध्ययनको विषयवस्तु, लेखाइको तरीका लगायतका विषयमा व्यवहारिक ज्ञान लिन सकिन्छ।

७) पिरो खानेकुरा सकभर नखानुस्। किनकि गहिरो अध्ययनका बेलामा शरीरको तापक्रम वृद्धि हुन्छ र झन पिरोले दिमाग छिटो थाक्छ। दिमागलाई स्फूर्ति राख्न सादा खाना र पानीमा जोड गर्नुस्।

८) तिथिमिति सम्झिँदा क्रम मिलाएर सम्झनुहोस्। अथवा उक्त मितिको बारेमा प्रशस्त जानकारी र त्यस जानकारीको बारेमा छलफल गर्नुहोस्। मिति र घटनाक्रम सँगै राखेर पढ्नुहोस्, यसले सम्झन सजिलो हुन्छ।

९) पढ्नु र सम्झनु अलग कुरा हो। त्यसैले पढेको कुरालाई सम्झन वा ताजा राख्न ‘रिभिजन’ गर्नुहोस्। अध्ययनका साथै नोट बनाउँदा स्मरण गर्न सजिलो हुन्छ। नोट तत्काल अध्ययनका लागि मात्र होइन, भविष्यको तयारीका लागि पनि काम लाग्छ।

१०) जे पढ्दै हुनुहुन्छ, त्यसलाई सकाउने उद्देश्यका साथ पढ्नुहोस्। आफूले पढ्नुपर्ने सबै विषयलाई उति नै माया गर्नुहोस्। प्रसङ्ग आउने ठाउँमा आफूले पढेकै विषयमा छलफल गर्ने बानी बसाल्नुहोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्