‘मोस्ट वान्टेड’ विष्णु तामाङ पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। प्रहरीको सर्वाधिक खोजीको सूचीमा परेका खाबाट विष्णु तामाङ पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको हो।

काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए। दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिए।

थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो। यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो। ‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले भने।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमासमेत लुटपाट गरेका थिए। यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए। जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्