कसरी पढ्ने ? यी हुन् पढ्ने उत्तम तरीका (१० टिप्स्)

students
लाेकपाटी न्यूज

पढेपछि पास मात्रै होइन, पहिलो नै हुने जो कोहीलाई पनि मन हुन्छ। तर सबैको इच्छा पूरा हुन सक्दैन। जति पढ्दा पनि परीक्षाका बेला पढेको कुरा लेख्न नसक्दा परिक्षार्थीले सोचेको जस्तो नम्बर नआउने, कोही फेल नै पनि हुन सक्छन्। यसले गर्दा विद्यार्थीहरु चिन्तित हुन्छन्।

त्यसैले अब पढ्ने तरिका बदल्नु पर्छ। धोत्लिएर रातो दिन पढ्नु भन्दा पढेको कुरा सम्झनु पनि महत्त्वपूर्ण हुन्छ। पढेको कुरामा चासो दिने र पढेको कुरा बुझ्ने प्रयास गर्नुपर्छ। पूरा ध्यान दिन जे पढ्‌दैछौं त्यसमा गहिरो चासो लिनै पर्छ। पढ्‌ने बेला तपाईंको ध्यान अन्तै छ भने पढेको कुरा याद गर्न सकिन्न। यस्ता छन् पढ्ने केही तरिकाहरुः

१. अन्डरलाइन गरेर पढ्ने : कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ। त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ। परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्‍याउँदा सम्झन सजिलो हुन्छ।

२. आफ्नो नोट आफैँ बनाउने : धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन्। आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ। शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो। आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न।

३. लेख्ने पूर्वाभ्यास : पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन। परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ। घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ।

४. सट्कर्ट बनाएर पढ्ने : कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन्। सम्झन अप्ठ्यारो हुन्छ। विज्ञान, अर्थशास्त्र र गणितका सूत्रहरु सम्झन सट्कट बनाउँदा सजिलो हुन्छ। जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ। यसरी पढ्दा निकै सहज हुन्छ।

५. महत्त्वपूर्ण कुराहरू मनन गर्ने : पढेको कुरा फेरि दोहोऱ्‍याउने र अरूलाई त्यो बताउने मौका पाए नछोड्ने। महत्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक हुन्छ भन्ने बुझ्नु पर्छ।

६. प्रयोगात्मकमा ध्यान दिने : पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ। मानौँ नेपालीको विद्यार्थीले कथा, कविता लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ। हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न।

७. प्रश्नोत्तर गर्ने : साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न। सानो टिम बनाउने, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्ने, यसले गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ। आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ।

८. साथीहरूसँग पर्याप्त छलफल गर्ने : पढ्दा पढ्दै कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो। समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफल गर्दा सजिलो हुन्छ। दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्यारा विषय समेत सहज बन्छन्।

९. टाइमटेबल बनाउने : बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन। कतिपयले पढ्न नभ्याएको पनि बताउँछन्। पढ्न समय व्यवस्थापन गर्नैपर्छ। पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ। कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ।

१०. चार्ट बनाएर पढ्ने : धेरैजसो पढाइमा टप गरेका व्यक्तिको पढाई शैली हेर्दा उनीहरूले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ। जस्तै करबारे पढ्दा करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्