इन्दु गौतमको स्मरण
मदन भण्डारीको गैरराजनीतिक प्रसङ्ग पनि उत्तिकै रोचक छ। उनको व्यक्तित्वले राजनीतिक करिअरलाई सहयोग पुगेको थियो भन्ने थाहा हुन्छ। २६ वर्षअघि आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परेर जीवन गुमाएका मदन भण्डारीको राजनीतिक सोचले अहिले पनि नेपाली राजनीतिलाई प्रभावित गरिरहेको छ। अहिलेको जस्तो देशभर कम्युनिष्ट पार्टी सर्वशक्तिमान हुने आधारशीला खडा गर्ने मध्येका एक हुन् मदन भण्डारी।
२०३७ साल तिरको कुरा हो म झस्किएँ। लौ, यो प्रहरी जासुस कमरेडहरु यहाँ बसेको थाहा पाएर खोज्न आयो। त्यस दिन कमरेडहरु यहीँ बसेर बिहान मात्र बाहिर निस्किनु भएको थियो। अब यसले बिताउने भयो भन्ने ठानेर मैले झर्किएर ठाडो शैलीमा ‘म जान्दिनँ कोही साथी, म एक्लै छु भनेर जवाफ दिएँ र वास्तै नगरी आफ्नो काममा लागि रहेँ। कमरेड उभिएर किंकतव्र्यविमुढ भएर हेरिरहनुभयो र केही छिनमा रित्तै फर्किनुभयो। बेलुका घरका सदस्यहरुलाई दिउँसो जासुस आएर कमरेडहरुलाई खोजेको कुरा बताएँ। तर, उहाँहरुले पत्याउनु भएन।
करिब दुई महिनापछि फेरि पनि उही जासुर सरासर घरमा आयो। म भान्छामा थिएँ। उनलाई देखेर अत्तालिएँ ,आज अर्कै भेषमा उही जासुस्। तपाई को हो ? किन सरासर माथि आउनु भएको, माथि आउन घरका मान्छेलाई सोध्नु पर्दैन ? भनेपछि १५–२० मिनेट बस्ने अनुमति माग्नुभयो। मैले कुर्सी बाहिरै ल्याएर राखिदिँए। तर, १५–२० मिनेट गइसक्दा पनि नहिँडेकोले मैले पुनः प्रश्न गरेँ – तपाई कसलाई खोज्दै हुनुहुन्छ ? अब कति मिनेट बस्नुहुन्छ ?
ठूल्दाइलाई खोजेको, उहाँलाई भेटनुछ भन्नुभयो। तपाई उतै गएर भेट्नुहोस्। ‘उहाँ दोकानबाट निकै अबेला आउनु हुन्छ। तपाई उतै जानुहोस्’ मैले भनें। उहाँले अँध्यारो अनुहार लगाउनु भयो। तर, संयोग त्यसदिन ठूल्दाई (मेरो श्रीमान्) चाँडै घर आउनु भयो र आउने बित्तिकै उनलाई ‘ओहो कमरेड कति बेला आउनुभयो, भित्र जाउँ’ भन्दै हात मिलाउनुभयो। म छक्क परेर पानी पानी भएँ।
ईश्वरी लामिछानेको स्मरण
मदन भण्डारी इतिहास र दर्शनशास्त्रमा असाध्यै रुचि राख्नुहुन्थ्यो। मन परेका पुस्तकको सूचि हामीलाई दिनुहुन्थ्यो। हामी खोजी खोजी किताब ल्याइन्थ्यिौं। नपुगेर आफैं पनि किन्न जानुहुन्थ्यो।
रातिबेला सुते पनि बिहान सबेरै उठनु हुन्थ्यो। नियमित योगाभ्यास गर्नुहुन्थ्यो। हामीलाई समेत उठाएर योग सिकाउनु हुन्थ्यो। लेखाइ बोलाई र गराइमा साह्रै सन्तुलन राख्नु हुन्थ्यो। जीवनशैली असाध्यै सरल थियो। हाम्रो घरबाट आउने पाउना उहाँसँग बोल्नासाथ लुपुक्कै झ्याम्थ्यिे घर व्यवहार दुख सुखका कुराबाट वार्तानलाप थालेर सबै सूचना संकलन गर्नुहुन्थ्यो। असल असल सल्लाह सुझाव दिनुहुन्थ्यो।
आर्थिक मामिलामा एकदम सफा हुनुहुन्थ्यो। मेसको एक एक हिसाब डायरीमा टिपेर राख्नुहुन्थ्यो। हामीलाई राखेर छलफल गराउनु हुन्थ्यो। महिलासँगको व्यवहार र आर्थिक मामिलामा तलमाथि गर्नेलाई कुनै हालतमा छोडन हुँदैन भन्नुहुन्थ्यो।
प्राज्ञिक विकासलाई अति महत्व दिनुहुन्थ्यो। कसैलाई परीक्षा छोडन दिनुहुन्नथ्यो। एक पल्ट मैले बिएको परीक्षा दिँदा अर्थशास्त्र छाडेँ। उहाँले अघाउन्जेल गाली गर्नुभयो।
एकराज भट्टराईको स्मरण
मदनजीको झुकाव साहित्यपट्टि नै थियो मोदनाथ प्रश्रितजीले बढी प्रेरित गरेर उहाँ राजनीतिमा आउनुभएको जस्तो लाग्छ। त्यस भावनालाई मलजल गर्ने कार्य चाहिँ पुष्पलाल र बिपीको राजनीतिक व्यक्तित्वले गरेको थियो। मदनजी कविता पनि लेख्ने गर्नुहुन्थ्यो। एक पटक दुग्ध विनायक धर्मशालाको हलमा नेता हुन्थें म पनि कि कतै दारी हो उम्र उम्र भन्ने कविता सुनाउनु भएको थियो। त्यो कविता हली दाइजस्तै चर्चित भयो।
बनारसमा बस्ने तर अध्ययन नगर्ने राजनीति पनि नबुझ्ने दारी पारेर देखावटी नेता हुने मुर्ख व्यक्तिहरुलाई व्यंग्य गरेर त्यो कविता लेखिएको थियो। त्यस कविताले नेता बनेर विद्यार्थीहरुलाई ठग्नेहरुमा निकै हलचल ल्यायो। सोझा विद्यार्थीलाई फारम भर्ने भनी पैसा ठग्ने कमिशन खाने अनि आफूलाई विद्यार्थीको नेता भनाउने व्यक्तिमाथि व्यंग्य भरिएको थियो।
ओम कोइरालाको स्मरण
हामी एक दिन इटहरीबाट पार्टी बैठकका लागि भनेर नरभाषा जाँदै थियौं हामीलाई सन्तलाल कहाँ जानु थियो। त्यो हाम्रो साहैं राम्रो सेल्टर थियो। हामी इटहरीबाट बीचको बाटो हुँदै घुस्कीबाट जाँदै थियौं। मानिस नचिनिने गरी अँध्यारो भइसकेको थियो हाम्रो झोलामा वर्ग सङ्घर्ष र नयाँ मुक्तिमोर्चा थियो। हाम्रा अगाडि प्रहरीहरुको गस्ती रहेछ। तिनीहरु सात जना थिए क्यार हाम्रो जम्काभेट भयो।
हामी दुवै जनासँग झोला थियो। मेरो झोलामा खुकुरी थियो। मेरो मुटु ढुकढुक गर्यो। अब के गर्ने, भाग्ने कि ? तर मदनजी उभिनु भयो। अनि, तिनीहरुलाई पहिल्यै सोध्नुुभयो ‘कताबाट आउनु भएको ? अब कताबाट निस्कने, तिनीहरुले छक्क परेर हेरे, बोल्न पनि सकेनन्। एक छिनपछि एक जनाले ‘हजुर साँझमै निस्किएको, छ नम्बर हुँदै नहर पुगेर फर्कियौँ। अब नौ नम्बर हुँदै निस्किने’ भन्यो।
मदनले भन्नुभयो, ‘ए सबै ठीकै छ नि ? हो भन्दै तिनहरुले हिँडनुअघि प्रश्न गरे, ‘साहेव कहाँसम्म, हामीसँगै जानुपर्छ कि ? मदनले बोली भुँइमा खस्नै नदिई भन्नुभयो, ‘पदैन, म उहाँ कहाँसम्म जान्छु, अनि त्यहीँ बस्छु ल जाऔं म हिँडे।’ यति भनेर मदन सटासट हिँडनुभयो म पनि पछि लागेँ। तिनीहरुले हस् त साब भनेर जिउ तन्काए, अनि हिँडे।
मदनले अली अगाडि गएपछि मलाई भन्नुभयो, ‘यिनीहरुले मलाई तिनीहरुको हाकिम ठाने, उनीहरुको हाकिम पनि यतै कतै आएको हुन सक्छ, यस्तो समयमा अत्तालिनु हुँदैन। उनीहरुले सोध्नुअघि आफैँले प्रश्न गर्नुपर्छ। उनीहरुलाई बोल्ने र पहिले सोध्ने मौका नै दिनुहुँदैन। अनि, उनीहरुले मौका पाउँदैनन्।
फेरि धेरै लामो कुरा पनि गरिरहनु हुँदैन। त्यस्तो भयो भने पनि फेरि समस्या हुन सक्छ। हामी अगाडि लाग्यौं। त्यस दिन पनि मदनको टाउकोमा कालो टोपी थियो।



लाेकपाटी न्यूज

