घरेलु महिला कामदारलाई रुखमा बाँधेर सजाय

kamdar
लाेकपाटी न्यूज

एजेन्सी। फर्निचर घाममा राखेको भन्दै एक घरेलु कामदारलाई रुखमा बाँधेर सजाय दिइएको छ। फिलिपिन्सकी एक घरेलु कामदारलाई फर्निचर घाममा राखेको भन्दै रुखमा बाँधिएको हो।

२६ वर्षे लभ्ली अकोस्टा बारुइलो साउदी अरबको रियादस्थित एक सम्पन्न परिवारकी घरेलु कामदार हुन्। उनी केही महिनादेखि त्यहाँ काम गरिरहेकी थिइन्। तर, काठको एउटा निकै महँगो वस्तु घाममा राखेका कारण उनी सजायको भागीदार हुनुपर्यो। घामले उक्त महँगो वस्तुलाई बिगारिदिने भन्दै उनका बुढा मालिक निकै रिसाएका थिए।

फिलिपिन्सका एकजना साथीले गत मे ९ मा लभ्लीलाई घरको आँगनको रुखमा बाँधिएको तस्बिर खिचिन् र इन्टरनेटमा अपलोड गरिन्। उनका अनुसार घरको काम बिगार्दा कस्तो सजाय पाइन्छ भनेर यस्तो सजाय दिइएको थियो। फिलिपिन्स डिपार्टमेन्ट अफ फरेन अफेयर्स ‘डिएफए’का अनुसार उक्त घटनाको जानकारीपश्चात् दुई सन्तानकी आमालाई घर फिर्ता पठाइएको छ। डिएफएका प्रवक्ताले भने, ‘लभ्ली अकोस्टा बारुइलो साउदी अरबबाट मे ९, २०१९ मा बेलुका ८ः५५ मा मनिला पुगिसकेकी छिन्।’

लभ्लीसँगै काम गर्ने एक महिलाले सहयोगको याचना गर्दै थोरै काम बिगार्दा पनि मालिकले अत्यधिक सजाय दिने गरेको बताइन्। लभ्ली अहिले फिलिपिन्सको ला युनियनस्थित आफ्नो घरमा छिन्। यसबारे कुरा गर्दै उनले भनिन्, ‘मलाई त्यहाँबाट निस्कन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। त्यहाँ बाँकी भएका अन्य फिलिपिनोलाई पनि सहयोग गर्न अपिल गर्छु । उनीहरुले नै मलाई सहयोग गरेका हुन् र मेरो फोटो अपलोड गरेका हुन्। म उनीहरुको सुरक्षाप्रति चिन्तित छु। उनीहरुको पनि उद्धार होस् भन्ने चाहन्छु।’

‘तिमी बुढा मान्छेले आफ्नो कर्मको फल पाउनेछौ, जुन धेरै टाढा छैन। हाम्रो तलब काटिराख। यसैकारण तिम्रो स्वास्थ्य खराब भइरहन्छ। तिमीले जस्तो कर्म गरेका छौं त्यो भोगेरै जानुपर्छ।’