के–के हुन् असल अभिभावकका १५ गुण ?

parents and child
लाेकपाटी न्यूज

असल अभिभावक हुन सजिलो छैन। हाम्रो नेपाली समाज अझ कठोर सभ्यता र संस्कृतिमा आधारित छ। अभिभावक हुन पाउनु सौभाग्य हो। तर, अभिभावक मात्रै हुनु र असल अभिभावक बन्नुमा ठूलो भिन्नता छ। कोही असल अभिभावक बन्न सफल हुन्छन् त कोही हुन सक्दैनन्।

सबै अभिभावक आफ्ना सन्तानको भलो, सुख र समृद्धि चाहन्छन्। तर, भलो चाहँदैमा सबै कुरा ठीकठाक भइहाल्दैन। कतिपय अभिभावकले त आफ्ना सन्तानमा कडा निगरानी राख्छन्। कडा रूपले प्रस्तुत हुन्छन्। हामीले सन्तानलाई असल बनाउन यसो गरे पनि यसले बालबालिकामा नकारात्मक असर पर्छ। यस्तो स्वभावले बालबालिकामा नराम्रो छाप पर्न जान्छ। असल अभिभावक बन्न यी १२ कुरामा ख्याल गरौं।

१) सन्तानको आलोचना – बालबालिकाबाट गल्ती हुनु स्वभाविक हो। तर, गल्तीलाई अभिभावकले कसरी सच्याउने भन्ने महत्वपूर्ण हो। रचनात्मक तरिकाले सुधार्नभन्दा उनीहरूको निन्दा मात्र गर्दा, आत्म विश्वासमा ठेस लाग्ने आलोचना गर्दा यसले बालबालिकामा नपत्याउँदो असर गर्छ। अभिभावकहरू यसप्रति सतर्क हुनुपर्छ। उनीहरूलाई सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट उत्साही बनाउन सक्नुपर्छ।

२) असहयोगी वातावरण – प्रायः नेपाली समाजमा सन्तानलाई सानैदेखि कडा निगरानीमा राख्ने प्रचलन छ। त्यसो गर्दा समाजलाई हेर्ने उनीहरूको दृष्टिकोण पनि रूखो हुने गर्छ। अरूको भावनाको कदर नगर्ने र समिप्यता नराख्ने स्वभाव बन्नसक्छ। उनीहरू पछि गएर आफ्नो सन्तानलाई पनि सोही वातावरणमा हुर्काउँछन्। सन्तानलाई सुहाउने गरी कडा वातावरणमा राख्दा उनीहरूमा आत्मनिर्भर बन्ने विश्वास पनि बढ्छ। सन्तानलाई परिपक्व बनाउन यो शैली गलत त होइन। तर, यसबाट सन्तानको विकास स्वस्थ तरिकाले सक्दैन।

३) भावनाको कदर – ‘केटा मान्छे रुनु हुन्न’ यो धारणा विश्वभरका सबै पुरुषमा लागू हुन्छ। सानै उमेरदेखि आफ्ना भावनालाई दबाउनुपर्छ भन्ने सोचले बालबालिका खुलेर भावना अभिव्यक्ति गर्न सक्तैनन्। यसरी हुर्कंदै जाँदा बालबालिका डिप्रेसन, एक्लोपनको सिकार भइरहेका हुन सक्छन्। भावना अभिव्यक्त गर्ने बानीले उनीहरूलाई अरूको भावनाप्रति संवेदनशील हुन सिकाउँछ।

४) सन्तानमार्फत् इच्छा पूरा गर्ने – कतिपय सन्र्दभमा अभिभावकहरू आफ्ना अधुरा र अपूरा चाहना सन्तानका माध्यमबाट पूरा गर्न खोज्छन्। आफू डाक्टर, इन्जिनियर, वकिल आदि बन्न नसके पनि सन्तान बनोस् भन्ने चाहन्छन्। तर, अभिभावकको यो इच्छाले सन्तानको इच्छा निमोठिएको छ वा छैन भन्ने पर्वाह गरिँदैन। अभिभावकको यो चाहनाले बालबालिकाको लक्ष्य पहिले नै निर्धारण गरिदिन्छ। यसले बालबालिकामा रहेको उचित प्रतिभाको प्रस्फुटन हुन सक्दैन।

५) खुशीको जिम्मेवार सम्झनु – प्रायः अभिभावक आफूले सन्तानका लागि गरेको दुःख देखाएर आफ्नो खुशीको जिम्मेवार उनीहरूलाई बनाउँछन्। यसले गर्दा सन्तानले गर्ने हरेक क्रियाकलापमा असर परिरहेको हुन्छ। अभिभावकले के भन्ने हुन् वा सोच्ने हुन भन्ने पीर उनीहरूमा देखिन्छ। अभिभावक बन्नु तपाईंको इच्छा थियो भने सन्तानको व्यक्तिगत रुचिमा हस्तक्षेप गर्नु अभिभावकको स्वार्थ हो। सन्तानलाई केही समय खुल्ला पनि रहन दिनुपर्छ।

६) घोचपेच – हामी आफन्त तथा साथीभाइमाझ चित्त नबुझेका कुरा व्यंग्यात्मक तरिकाले भन्छौँ। तर, उक्त व्यवहार हुर्कंदै गरेको बच्चामा उपयुक्त हुँदैन। उनीहरू ठूला व्यक्तिले जस्तै पचाउन सक्दैनन्। घोचपेचले उनीहरूलाई मानसिक आघात पर्न सक्छ। यसले उनीहरू विस्तारै परिवारमा घुलमिल हुन छोड्छन्। उनीहरूको गल्ती औंल्याउनुभन्दा पनि रचनात्मक तरिकाले प्रस्ट्याउँदा असल अभिभावकको कर्तव्य पूरा हुन्छ।

७) सन्तानमा दोष थोपर्नु – घरायसी समस्या स्वभाविक हो। सबैको घरमा हुन्छ। यस्ता समस्याको दोष प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बालबालिकालाई दिइने गरेको छ। यसबाट उनीहरूको मनोविज्ञानमा ठूलो असर पर्छ। पछि गएर उनीहरू त्यही प्रवृत्तिका भरिया बन्छन्। यसले उनीहरू पनि आफ्ना गल्ती लुकाउन साथी, वा साना भाइबहिनीलाई दोष दिने स्वभावका हुन्छन्।

८) त्रासमय वातावरण – परिवारमा माया, स्नेह, खुशीसँगै थोरै मात्रामा डरको वातावरण हुनु जरुरी छ। उनीहरूलाई अनुशासित राख्न जायज डर चाहिन्छ। तर, अनावश्यक डर र त्रासमय वातावरणले भने बालबालिकालाई अनुशासित भन्दा पनि भावना अभिव्यक्त गर्न नसक्ने बनाउँछ। बालबालिकाले अभिभावकलाई डरभन्दा सम्मानले आदर सत्कार गर्न सिक्नुपर्छ। हरेक समस्या खुलस्त रूपमा व्यक्त गर्नसक्ने अभिभावक बन्नु सफलता हो।

९) ध्यान केन्द्रित गराउनु – कतिपय अभिभावक बच्चाबच्चीलाई हुर्काएको, बढाएको, खानपान, हेरचाह आदि गराएको जस देखाएर उनीहरूलाई आफूप्रति सम्पूर्ण ध्यान केन्द्रीत गराउन खोज्छन्। सन्तानलाई केही समय नितान्त व्यक्तिगत समय व्यतित गर्न दिनुपर्छ।

१०) आर्थिक प्रतिबन्धमा राख्नु – कतिपय अवस्थामा बालबालिकालाई पैसाको प्रलोभन देखाउने गरिन्छ। आफूले गल्ती गरे पैसा वा गिफ्ट दिएर फकाउने फुलाउने स्वभाव कति अभिभावकको हुन्छ। यो एकदम गलत तरिका हो। अभिभावकले पनि आफूले गरेको गल्ती बालबालिकासँग स्वीकार गरेमा उनीहरूमा सो बानी विकास हुनजान्छ।

११) मौनतामा राख्नु – बालबालिका जिज्ञासु हुन्छन्। उनीहरू उत्सुकताका साथ अनेकौं प्रश्न गर्छन्। अभिभावकले उनीहरूको उत्सुकतामा मौन रहने अथवा ‘नकराऊ’ भनेर गाली गर्ने हो भने बालबालिकाको उत्सुकता सँधैका लागि मरेर जानसक्छ।

१२) परिधिमा बस्ने – बालबालिकाहरू प्रायः अग्रजहरूबाट सिक्छन्। अभिभावकले बालबालिकाको व्यवहार अवलोकन गरिरहेका हुन्छन्। र, त्यसको अनुसरण बालबालिकाले गरिरहेका हुन्छन्। पूर्वीय संस्कृतिका अनुसार अभिभावकलाई आदर गर्नु सन्तानको कर्तव्य हो। तर, अभिभावक पनि बालबालिकासामु आदरसाथ प्रस्तुत हुनसके उनीहरूमा सो व्यवहारको अमिट छाप पर्न जान्छ।

१३) बढी ख्यालठट्टा – बढी ख्यालठट्टा गर्नु पनि अभिभावकका दृष्टिले राम्रो मानिँदैन। सन्तानले आफ्ना अभिभावकलाई बौद्धिक र जिम्मेवार नागरिक ठानिरहेका हुन्छन्, अभिभावकको सिकाइ नै सन्तानको पहिलो सिकाइ हो। बढी ख्यालठट्टा गर्दा सन्तानले अभिभावकको मूल्य नबुझ्न सक्छन्। तर, बेलाबखत सन्तानसँग रमाइलो गर्नु चाहिँ असल अभिभावकको गुण हो।

१४) जिद्दीसामू झुक्नु – बालबालिकाले आफ्ना अभिभावकसँग केही न केही अपेक्षा गरिरहेका हुन्छन्। त्यसका लागि उनीहरुले अभिभावकसँग जिद्दी पनि गर्दछन्। तर, बच्चाले जिद्दी गरेकै बेला अभिभावकले उसको माग पूरा गरिदिनु राम्रो हुँदैन। त्यसले बच्चामा ‘बार्गेनिङ’ गर्ने बानीको विकास हुँदै जान्छ। बरु, आवश्यकताका आधारमा बच्चाको माग पूरा गरिदिनुपर्छ।

१५) सन्तानका लागि समय – आधुनिक जीवनशैलीमा सबै अभिभावक व्यस्त नै हुन्छन्। व्यस्त हुनु हरेक दृष्टिले राम्रो पनि हो। तर, बच्चाका लागि समय नदिँदा बच्चा र अभिभावकको दुरी बढ्दै जान्छ। उनीहरुले एक्लै महशुस गर्दै जान्छन्। तसर्थ, अभिभावकले सबै कामबाट समय निकालेर भए पनि दिनमा १–२ घण्टा बच्चासँग रम्नुपर्छ। त्यही समय हो, जसले बच्चाको जिन्दगीका लागि धेरै कुरा सिकाउन सकिन्छ।