काठमाडौं, ०१ जेठ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत नगर र वडा स्तरीय समन्वय समितिका पदाधिकारीहरुसँग छलफल तथा अभीमुखीकरण कार्यक्रम भएको छ। सो कार्यक्रम गोकर्णेश्वर नगरपालिकामा बुधबार सम्पन्न भएको हो।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नागरिकले शान्त र सुरक्षित समाजको परिकल्पना गरेको हुने चर्चा गर्दै यस्तो समाज निर्माणको लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने बताए। अपराध न्यूनीकरण गर्न नागरिकको ठूलो भूमिका रहेको चर्चा गर्दै उनले उक्त कार्यक्रम मार्फत प्रहरीलाई आपराधिक कार्यको सूचना दिन नागरिकलाई आग्रह समेत गरे। सामाजिक संजालको दुरुपयोगबाट अपराध बढेको उल्लेख गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले यसको सही रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमूख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रयोग र महत्वबारे आ–आफ्नो मन्तव्य व्यक्त गरे।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले वृत्तका कार्य प्रगती विवरण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुभारम्भ भए पश्चात् वृत्तबाट शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि भएका कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए।
गोकर्णेश्वर नगरपालिका ८ का अध्यक्ष मनोज ढुङ्गनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, समुदाय(प्रहरी साझेदारी अन्तर्गत पालिका तथा वडा स्तरीय पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत पर्यटक सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार ठमेलमा सम्पन्न भएको छ ।
पर्यटन विभाग, पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिकाबारे छलफल भएको थियो ।



लाेकपाटी न्यूज
