जनगुनासो नआउने गरी काम गर्नुस् : मेयर दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन, १ जेठ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इमान्दार, निष्ठावान तथा सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन्।

भरतपुर महानगरपालिकाका वडा सचिवहरु र समायोजन पदस्थापनमा आएका कर्मचारीहरुको क्षमता विकासका लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताइन्। उनले भनिन्, ‘राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको कुनै पनि काममा ढिलासुस्ती नगरी, पारदर्शी ढंगले सेवा प्रवाह गर्न जरुरी छ।’

महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई सशक्त र गतिशील बनाउन वडा सचिवहरुलाई निर्देशनसमेत दिएकी थिइन्। कार्यशाला गोष्ठीमा महानगरका २९ वटा वडाका वडा सचिव सहभागी थिए। महानगर प्रमुख दाहालले भनिन्, ‘सेवा प्रवाह प्रभावकारी अझै हुन नसकेको यदाकदा केही गुनासोहरु आइरहेका छन्, यस्तो कुनै किसिमको गुनासो नआउने ढंगले काम गर्न जरुरी छ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिङ्गो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले कार्यशालाबाट सिकेको सीपलाई कार्यान्वयनमा लगेर सेवालाई प्रभावकारी बनाउन कर्मचारीको कर्तव्य भएको बताइन्।

कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए। उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य महानगरका उपसचिव प्रद्युम्न उपाध्यायले दिएका थिए।

दुई दिनसम्म चल्ने कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिव कुलबहादुर जिसी, सूचना अधिकारी मेनका पण्डित, उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय, ठाकुरप्रसाद पौडेल, नेत्रप्रसाद रिजाल, तुलसीप्रसाद पौडेललगायतले प्रशिक्षण दिनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्