काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा मंगलबार काठमाडौंमा ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’मा प्रचण्डले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताएका हुन्।
उनले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिनेसमेत धारणा राखे। जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
“भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङसँग कुरा हुँदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दै भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो” उनले भने, ‘‘दुवै नेताले ‘नेपाल देश सानो नभएको र नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो छ’ भने।’’
दुई नेताको भनाइबाट जनकपुर, लुम्बिनी र पशुपतिनाथलाई सम्झन्छन् भन्ने देखाउछ।’’ अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताए।
यस्तै उनले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताए। नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले नेपाल र भारतका केही विद्धानलाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने बताए।
उनले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राखे। मिथिला र मिथिला सभ्यता आफैमा नेपालको मात्र नभई विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्दै उनले मिथिला सभ्यताबाट मानिसले ज्ञान र विज्ञान सिक्ने सिकाउने भए पनि अहिले मिथिला यहाँबाट अयन्त्र सरेको बताए।
जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटनजस्ता कार्य मिथिला सभ्यतालाई नै बुझेर गरेको उनले उल्लेख गरे।
अध्यक्ष प्रचण्डले आफू धर्म निरपेक्षभन्दा धर्म सापेक्षको पक्षपोषण गर्ने, जनताको धार्मिक आस्थालाई सम्मान गर्ने, सबै धर्म सम्प्रदायमा राज्यले समान व्यवहार गर्नुपर्दछ भन्ने कुराको पक्षपाती रहेको बताए। उनले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्नेमा आफू रहेको उल्लेख गरे।
प्रचण्डले सीतालाई आदर्श नारीको रुपमा चिनिएकोले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्ने बताए। “रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ। पितृसत्तावादी सोचको अभावले भएको हो” उनले भने, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नु हुँदैन। महिला हुनुको नाताले सीतालाई बढी चर्चा, सम्मान हुनुपर्दछ। सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ।”
अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडाैं हुँदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हुँदै गइरहेको बताए। उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताए।
अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गर्ने समेत बताए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरिको रुपमा विकास गरिने बताए।
सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेद्को अन्त्य हुने बताए। राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले नारीमा हुनुपर्ने मर्यादा सीताभन्दा अर्को कोहीमा नभएको बताए।
ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गको रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताए। कार्यक्रममा मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँ सीताको जयन्ती मनाउन थालिएको बताए।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलको रुपमा विकास गरिनुपर्ने बताए। कार्यक्रममा अरविन्द मिश्रले मिथिला, सीता र राजा जनकबारे ‘मिथिला र जनकवंशः एक संक्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गरेका थिए।



लाेकपाटी न्यूज

