काठमाडौंँ, जेठ १ गते । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा सदस्य गरी हालसम्म रिक्त ४६ पदमा मात्रै उपनिर्वाचन हुने भएको छ। अब स्थानीय तहको उपनिर्वाचन हुँदा वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन हुने भएकाले थोरै पदमा उपनिर्वाचन हुन लागेको हो।
प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षको मात्रै उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । उपनिर्वाचन कहिले हुने भने टुङ्गो लागिसकेको छैन ।
स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समिति सदस्य गरी नौ सयभन्दा बढी पद रिक्त भए पनि ती पदमा उपनिर्वाचन नहुने भएको हो। निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा उपनिर्वाचन गराउन आयोग तयार रहेको बताए।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा त्यसका लागि आवश्यक सबै तयारी गर्न कर्मचारीहरुलाई निर्देशन दिइसकेको जानकारी पनि आयोगले दिएको छ।
आयोगका अनुसार गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर–२ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो पद रिक्त छ। अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए।
यसैगरी, प्रदेशसभा सदस्यत्रय हरिशरण लामिछाने, टेकबहादुर घर्ती, उत्तरकुमार ओलीको निधनपछि प्रदेशसभामा तीन पद रिक्त छन्। प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्ती र प्रदेश ५ को दाङका उत्तरकुमार ओलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। उनीहरू तीनैजना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थिए।
स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको पनि निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो।
यसैगरी, ७७ जिल्लामा गरी ३८ वडा अध्यक्षको पद रिक्त छन्। कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन्। निर्वाचन हुने पदमध्ये ३६ जनाको त निधन भएका कारण पद रिक्त छ ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं.–५ का वडा अध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारमा गएका कारण र रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ७ का अध्यक्ष धर्मराज यादव निलम्बनमा परेका कारण वडा अध्यक्ष पद खाली छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं– ६ का वडा अध्यक्ष सञ्जयकुमार मण्डलले वडा अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद खाली छ ।
त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कम्तीमा ९४४ पद रिक्त भए पनि वडा अध्यक्षभन्दा माथिल्लो पदमा मात्रै उपनिर्वाचन हुनेछ।
नयाँ आर्थिक वर्षको वार्षिक बजेट यही जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। त्योभन्दा अगाडि हुने उपनिर्वाचनको मिति घोषणा हुने सम्भावना नै छैन। निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आचारसंहिता लागू हुन्छ।
निर्वाचनका लागि विद्यमान निर्वाचन कानुनमा आयोगलाई १२० दिनको समय प्रदान गरिएको छ । जेठ १५ पछि निर्वाचनको मिति घोषणा हुँदा वर्षा सुरु भइसक्ने भएको कात्तिक अन्तिम वा मंसिरको पहिलो साताभन्दा अगाडि उपनिर्वाचन हुने सम्भावना टरेको छ।
हाल रिक्त जनप्रतिनिधिहरुमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरप्रमुख–१, गाउँपालिका अध्यक्ष–३, वडाध्यक्ष–३८ गरी जम्मा ४६ स्थान रिक्त रहेको छ। निर्वाचन आयोगले उल्लेखित रिक्त स्थानमा उपनिर्वाचन थालेको हो।



लाेकपाटी न्यूज

