काठमाडौं, ३० वैशाख। २८ वटा वाणिज्य बैंकहरुको खुद नाफा बढेको छ। उक्त बैंकहरुको खुद नाफा ३६ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ति बैंकको नाफा ४५ अर्ब ६६ करोड पुगेको छ। गत वर्षको यस अवधिमा ३३ अर्ब ५१ करोड थियो।
कुल २८ मध्ये २५ बैंकको नाफा बढेको छ भने तीन बैंकको नाफा घटेको छ। एनआइसी एसिया बैंकको नाफा सबैभन्दा धेरै १४६ प्रतिशतले बढेको छ। मेगाको नाफा १३२ प्रतिशतले बढेको छ। इन्भेष्टमेन्ट, नेपाल र सेन्चुरी कमर्सियल बैंकको नाफामा भने गिरावट आएको छ। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड खुद नाफा कमाएको छ।
मुख्यतः व्यवसाय बढ्दा नाफा स्वभाविक रुपमा बढेको बैंकर्स बताउँछन्। २८ बैंकको निक्षेप एक वर्षको अवधिमा १९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह २०. ८ प्रतिशतले बढेको छ। चैत मसान्तसम्म बैंकहरुले कुल २७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका छन् भने २४ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका छन्।
व्यवसायको विस्तार जुन दरले बढेको छ, नाफाको वृद्धिदर भने त्योभन्दा बढी देखिएको छ। यसको मुख्य कारण बैंकहरुले लिने र दिने व्याजको औसत अन्तर (स्प्रेड दर) समेत बढेको छ।
बैंकहरुले बचतकर्तालाई दिने व्याजदरमा भद्र सहमति गरेपछि औसतमा दिने व्याजदर घट्न पुग्यो। तर ऋणीबाट लिने व्याजदर नघट्दा स्प्रेड दर बढेको छ।




लाेकपाटी न्यूज

