मानव बेचबिखन र साइबर अपराधबाट नागरिकलाई सुरक्षित राख्छौं : महानिरीक्षक खनाल

Sarbendra Khanal
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच काठमाडौं भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोको भवन उद्घाटन गर्नुका साथै काठमाडौं बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरो कार्यालयको शुभारम्भ गरेका छन्। उद्घाटन तथा शुभारम्भ पश्चात प्रहरी महानिरीक्षक खनालले दुवै ब्यूरोको निरीक्षण समेत गरेका थिए।

भवन उद्घाटन तथा कार्यालय शुभारम्भका अवसरमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय बबरमहलमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले मानव बेचबिखन तथा साइबर अपराधको चपेटाबाट नागरिकलाई सुरक्षित राख्न दुबै ब्यूरोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सरकारको नीति कार्यान्वयन गर्ने कामको सँगसगै प्रहरी संगठन र विभिन्न विभाग, मन्त्रालयहरुको मूल उद्देश्य नागरिकलाई सेवा प्रदान गर्ने हो भन्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै सरोकारवाला निकाय तथा संघ संस्थाहरुले एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। यस्ता अपराधबाट पीडितलाई न्याय दिलाउने कार्यमा सहज व्यवस्था मिलाउन समेत सबै सरोकारवाला निकायहरुले समन्वय गर्दै जानुपर्ने उनले बताए।

आगामी दिनमा दुबै ब्यूरोलाई विज्ञ जनशक्ति, आवश्यक प्रविधि तथा साधनस्रोतसहित थप व्यवस्थित गर्दै लैजानेतर्फ संगठनको प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भविष्यमा मानव बेचबिखन तथा साईबर अपराधबाट कोही पनि पीडित नहुन् भन्नेतर्फ दुवै ब्यूरोले विशेष भूमिका खेल्ने विचार व्यक्त गरे। मानव बेचबिखन तथा भष्ट्राचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाई नेपाल प्रहरीले सबै सरोकारवाला निकायसँग सहकार्य र प्रभावकारी समन्वय गर्दै अगाडि बढ्ने उनले बताए।

उक्त अवसरमा अध्यागमन विभागका महानिर्देशक ईश्वर राज पौडेल, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म भूसाल र सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवले दुवै व्यूरोको महत्वबारे प्रकाश पार्दै आगामी दिनमा मानव बेचबिखन तथा साइबर अपराध विरुद्ध एकआपसमा समन्वयात्मक रुपमा सहकार्य गर्दै जाने बताए।

कार्यक्रममा केन्द्रीय साइबर ब्यूरोका प्रमूख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले स्वागत मन्तव्य एवं कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै आउँदा दिनमा संगठनको अपेक्षा बमोजिम दुवै ब्यूरोले प्रभावकारी रुपमा उल्लेखनीय कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्