विभिन्न अभियोगमा २२ पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । हत्या गरी फरार रहेका प्रतिवादी ललितपुर माहानगरपालिका २, सानेपा बस्ने काभ्रेपलान्चोक माहाभारत गाउँपालिका २ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

२०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको कर्तव्य ज्यान मुद्धामा फरार ईन्द्र बहादुरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक धुलिखेल पठाइएको सो ब्यूरोले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
हेटौंडा उपमहानगरपालिका १० आनन्द टोल बस्ने हेनिश शाहीको घरबाट लागूऔषध ब्राउन सुगर तथा अन्य सामानहरु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शाहीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तलासी गर्दा करिब ५ ग्राम लागूऔषध ब्राउन सुगर प्लास्टिकमा बेरिएको अवस्थामा र खरानीमा ब्राउन सुगर मिलाई कागजमा बेरिएको अवस्थामा करिब २.३० ग्राम, मोबाइल ४ थान, ना.२० प ६१ नम्बरको मोटरसाइकल, फलामको तरवार १ थान र कैची १ थान फेला पारी सोही ठाउँ न्युरेनी बस्ने २६ वर्षीय मोहमद शहिद मिया समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा मोहमद शहिदले एक पुरिया ब्राउन सुगर निलेकोले निजको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

धातुको बालासहित पक्राउ
ओमान एयरको उडानद्वारा अबुदाबीबाट काठमाडौं आएका तनहुँ व्यास नगरपालिका १० घर भई बस्ने २५ वर्षीय सागर दराईलाई सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला २ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानतर्फको आगमन पार्किङ एरियामा जाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको अवस्थामा उक्त धातु सहित फेला पारी दराईलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीलाई दुव्र्यवहार गर्ने पक्राउ
सूर्यविनायक नगरपालिका ५ सल्लाघारीमा सवारी साधन जाँच गर्ने क्रममा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई दुव्र्यवहार गर्ने सोही ठाउँस्थित शुवर्णेश्वर बस्ने २९ वर्षीय पसिल श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जुवातास खेल्ने पक्राउ
काठमाडौं महानगरपालिका १ मैत्रीनगर डेरा गरी बस्ने पर्सा, बीरगंज घर भएका ३० वर्षीय श्याम कुमार बिकको किराना पसलमा जुवातास खेलिरहेका चन्द्रागिरी नगरपालिका १५ का ४१ वर्षीय नवराज विश्वकर्मा समेत ५ जनालाई ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौ महानगरपालिका ९ सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा ७ बस्ने ५७ वर्षीय शिव थापा समेत ९ जनालाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणीको अभियोगमा पक्राउ
ललितपुर, ललितपुर महानगरपालिका २८ हरिसिद्धिस्थित तारा इँटाभट्टामा बस्ने सल्यान शारदा नगरपालिका २ की ९ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा सोही इँटाभट्टामा बस्ने रोल्पाका ४३ वर्षीय कमल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ भातेढिकुरमा चांगुनारायण नगरपालिका १ दुवाकोट बस्ने नुवाकोट दानसिंह गाउँपालिका ३ की १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका १ दुवाकोट बस्ने बर्दिया, वैदी नगरपालिका १० का आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्