प्रहरी संगठन गतिशील हुनुपर्छ : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

काठमाडौं, २९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका ३ जना प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७६ वैशाख २७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।

सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए। प्रहरीका हरेक काम कानूनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उनले भने, “मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।”

नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोंच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे। सांगठनिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै उनले भने, “संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।”

राष्ट्र र नागरिकप्रति सदैव उत्तरदायी रहने प्रहरी कर्मचारीको बोली, वचन, व्यवहार पनि नागरिकमैत्री र असल हुनुपर्ने चर्चा गर्दै उहाँले हरेक व्यावसायिक काम इमानदारिताका साथ ढुक्क भएर गर्न निर्देशन दिए। मानव अधिकार संरक्षण र प्रवद्र्धनमा विशेष चासो दिएर काम गर्न समेत उनले आग्रह गरे। नेपाल प्रहरीले विगतमा अवलम्बन गरेका केही कार्यक्रमहरुलाई समेत एकीकृत गर्दै संस्थागत रुपमा लैजान समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन यसको अवधारणा पूर्ण पालना गरी काम गर्नुपर्ने उनले बताए। सूचना प्रविधिको समुचित प्रयोग गर्दै सुशासन कायम गर्नका लागि सकारात्मक परिवर्तन आउने गरी हरेक कामको उचित व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाकासाथ प्रहरी महानिरीक्षकज्यूले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे। समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै यसलाई संस्थागत रुपमा विकास गर्नुपर्ने उनले उल्लेख गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्