समाजवादी पार्टी र राजपाबीच एकताकाे गृहकार्य

Baburam-upendra
लाेकपाटी न्यूज

काठमाडौं, २८ वैशाख। नवगठित समाजवादी पार्टी, नेपालले राष्ट्रिय जनता पार्टी ‘राजपा’ लगायतका दलसँग एकताका लागि पहल थालेको छ।

गत सोमबार नयाँ शक्ति, नेपाल र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले एकताका लागि राजपासँग पहल थालेको हो। दुई पार्टीको एकताअधि पनि राजपासँग केही चरण वार्ता भएको थियो। राजपासँगको वार्ता निष्कर्षमा नपुगेपछि वार्ताको ढोका खुल्ला राख्दै नयाँ शक्ति र फोरम एक भएका थिए।

समाजवादी पार्टीले राजपा लगायतका विचार र सिद्धान्त मिल्ने दलसँग एकता गर्नका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गगरेर वार्ताको प्रक्रिया अगाडि बढाएको छ। वार्ता टोलीका अन्य सदस्यहरुमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य रहेका छन्।

सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक श्रेष्ठले राजपालगायतका दलसँग वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिए। ‘राजपासँग केही चरण छलफल भएको छ’, उनले भने, ‘हामी विचार मिल्नेहरुसँग एकतावद्ध भएर अगाडि बढ्न तयार छौँ र त्यसको प्रक्रिया समेत अगाडि बढाएका छौँ।’

टोलीले छलफल सुरु गरे पनि अहिलेसम्म कुनै निष्कर्षमा भने पुगेको छैन।फोरम र नयाँ शक्तिबीचको एकतापछि राजपामा पनि एकताका लागि दबाब सुरु भएको छ।