समाजवादी पार्टीको देशभरि जनसभा : कहाँ–कहिले ?

upendra baburam bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २७ वैशाख। समाजवादी पार्टी, नेपालले देशको आठ वटा शहरमा भब्य कार्यक्रम गर्ने निर्णय गरेको छ।
पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन कार्यक्रम गर्न लागिएको हो।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आठ वटै शहरमा संयुक्त रुपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिए।

यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरुलाई एकताको लागि अपील समेत गरेको छ।

यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँचदिन भित्र समायोजन निर्देशिक तयार गर्न समिति गठन गरेको छ। पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेष्ठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेष्ठ २५ गते पोखरामा समापन हुनेछ।

कार्यक्रम तालिका अनुसार आगामी जेष्ठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते विरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ। सो कार्यक्रममा नगरपालिका एवं गाउपालिकाका अध्यक्ष, प्रदेश समितिका पदाधिकारी, प्रदेशस्थित भ्रातृ संगठनका पदाधिकारी, जिल्ला समन्वय समितिका संयोजक एवं इन्चार्ज तथा पार्टी केन्द्रीय समस्यको सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्