जुनियर डीआइजी भएपछि सिनियर असन्तुस्ट

Nepal polic
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। नेपाल प्रहरीमा रिक्त रहेको डीआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएपछि वरिष्ठ प्रहरी अधिकृतहरुमा असन्तुष्टि देखापरेको छ।

मन्त्रिपरिषदले वैशाख १९ गते नेपाल प्रहरीमा रिक्त रहेको डीआइजी पदमा एसएसपी विश्वराज पोखरेललाई बढुवा गरेको थियो। नेपाल प्रहरीमा आधा दर्जन एसएसपीहरु रहँदाल्रहँदै राजनीतिक आधारमा कनिष्टलाई डीआइजी बनाइएको गुनासो असन्तुष्ट एसएसपीहरुको छ।

एउटा टोलीले आफ्नो वरीयताबमोजिमको पदोन्नति नपाउँदै तल्लो टोलीबाट एकैचोटि विश्वराज पोखरेललाई बढुवा गरिँदा फौजी संगठनको चेन अफ कमाण्ड बिथोलिएको भन्दै अधिकांश प्रहरी अधिकृतहरु निराश भएका हुन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा ०४६ माघ २९ गते इन्स्पेक्टर पदबाट भर्ना भएर सेवा प्रारम्भ गरेको थियो। खनालभन्दा पछि ०४९ बैशाख १९ गते भर्ना भएका केही अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् भने केहीचाहिँ अझैसम्म एसएसपी नै छन्। तर, ती सिनियर एसएसपीहरुभन्दा ११ महिनापछि भर्ना भएका पोखरेललाई डीआईजी बनाइएको असन्तुष्टहरुको तर्क छ।

२०४९ वैशाख १९ मा भर्ना भएको टोलीबाट अहिले शैलेस थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पाल र प्रद्युम्नकुमार कार्कीसहितका अधिकृतहरु डीआईजी पदमा कार्यरत छन्। तर, ०४९ मै भर्ना भएको यही टोलीका गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, रामकृपाल साह, प्रकाश अधिकारी, शेखर कोइराला, वीरेन्द्रकुमार बस्यालसहित झण्डै एक दर्जन अधिकृतहरु अहिले पनि एसएसपी पदमै कार्यरत छन्।

डीआईजी सिफारिस भएका पोखरेल ०४९ चैत ११ मा इन्स्पेक्टर पदमा नियुक्त भएका हुन्। उनीसँगै उत्तमराज सुवेदी, अरुणकुमार बीसी, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, दिवेश लोहनीलगायतका प्रहरी अधिकारीहरु पोखरेल भर्ना भएकै मितिमा इन्स्पेक्टर पदमा भर्ना भएका हुन्।

तर, ११ महिनाअघि भर्ना भएकाहरुलाई एसएसपीमै खुम्च्याएर कनिष्ट मध्येबाट पोखरेललाई डीआइजीमा बढुवा गरिएको गुनासो एसएसपीहरु माझ चल्न थालेको छ। एउटै ब्याचका इन्स्पेक्टरहरुलाई डीएसपीमा र डीएसपीबाट एसपीमा बढुवा गर्दा विश्वराज पहिलो नम्बर वरीयतामा थिएनन्। तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौं वरीयताका पोखरेललाई एक नम्बरमा पारिएको थियो।

यसअघि काठमाडौं प्रहरी परिसरमा रहेका बेला दिल्लीस्थित नेपाली दूताबासमा सुरुवा हुँदा पोखरेलले जान नमानेर कमाण्डको अनुशासन उल्लंघन गरेको प्रहरी अधिकारीहरु बताउँछन्। तर, अहिले उनै एसएसपी पोखरेललाई एक्लै बढुवा गरेर भावी आइजीपीका लागि बाटो खोल्ने काम गरिएको गुनासो संगठनभित्र चुलिएको छ।

राजनीतिक नेतृत्वले आफ्नो स्वार्थमा सुरक्षा निकायको वरीयता बिगार्ने क्रमलाई संगठन प्रमुखका हैसियतले आईजीपीले रोक्नुपर्नेमा उनले त्यसो नगरेको भन्दै संगठनभित्र आईजीपी सर्वेन्द्र खनालसमेत आलोचित बनेका छन्। डीआईजीमा बढुवा भएका पोखरेल रक्षामन्त्री ईश्वर पोखरेलका नातेदार हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्