एजेन्सी। भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ। एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन्। पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो।
गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रयासपछि साम्ब्रानो पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन्। अमेरिकासमेत ५० राष्ट्रले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्। तर, मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन छ र उनले सत्ता छाड्न अस्वीकार गर्दै आएका छन्।
डेमोक्र्याटिक एक्शन पार्टीका नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गर्नुभन्दा केही बेरअघि राजधानी कराकसमा आयोजित पार्टीको एउटा बैठकमा आफू उनीसँग भएको बताएका छन्। गाडी घेरियो, उनले भने, उनीहरूले हामीलाई उनी (साम्ब्रानो) भएको ठाउँमा जान दिएनन्। उनीहरूले गाडी तान्ने ट्रक ल्याए र उनको गाडीलाई तानेर लगियो।
साम्ब्रानोलाई एल एलिकोइद जेलमा राखिएको हुन सक्ने उनको भनाइ छ। प्रोस्पेरीले भने, हामीलाई उनी कस्तो स्थितिमा छन् र एल एलिकोइदमा के हुँदैछ भन्ने थाहा छैन।’ ग्वाइदोले पनि वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन्। उनले गाडी तानेर लैजानुलाई मूर्खता भनेका छन्। देशको सर्वोच्च अदालतले साम्ब्रानो र संसद्का अन्य छ उपाध्यक्षलाई असफल भएको सैन्य विद्रोहमा सहभागी भएको आरोपमा देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो।
मदुरोलाई समर्थन गर्ने संविधानसभाका प्रमुखले विद्रोहका एक मुख्य षड्यन्त्रकारीू पक्राउ परेको र उनीहरूविरुद्ध मुद्दा चलाइने सरकारद्वारा सञ्चालित टेलिभिजनलाई बताए।



लाेकपाटी न्यूज

