नेपालमा बेरोजगारी : १५ कारण र १४ समाधान (बहस)

Dildhyoj tamang
लाेकपाटी न्यूज

सामान्यतः कुनै पनि काम गर्न योग्य व्यक्ति काम गर्ने ईच्छा र तत्परता देखाउँदा समेत उसले काम गर्ने अवसर प्राप्त गर्दैन भने त्यसलाई बेरोजगार भनिन्छ। अर्को शब्दमा भन्ने हो भने शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेका भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई बेरोजगार भनिन्छ।

वर्तमान समयमा नेपालका विभिन्न समस्याहरुमध्ये बेरोजगारी समस्यासमेत एक प्रमुख समस्याको रुपमा रहेको देखिन्छ। नेपालको श्रम बजारमा प्रतिवर्ष चार लाखभन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्दछन्। तर, दुर्भाग्य हाम्रो नेपालको रोजगारी वृद्धि दर ३.२५ छ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैधानिक रुपमा श्रम स्वीकृति लिएर मात्रै प्रतिदिन करिब १ हजार देखि १५ सय युवाहरु रोजगारीको सिलसिलामा विदेश जान्छन् र प्रतिदिन लगभग ३ देखि १० जनाको शव विदेशबाट आएको तथ्याङ्कले देखाउँछ ।

‘विदेसिनु रहर होइन, बाध्यता हो’ भन्ने युवा जमातका लागि बेरोजगारी समस्या अभिशाप तुल्य भएको पाइन्छ। नेपाली श्रमिक विदेशी भूमिमा गएर ‘थ्री–डी’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस्) काम गर्न बाध्य भएका छन्। वि.सं. २०७१ मा अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २६.१५ उच्च शिक्षा बेरोजगारी रहेको पाइन्छ। जसको परिणाम स्वरूप बौद्धिक पलायन (ब्रेन ड्रेन) को समस्या सहजै देख्न सकिन्छ।

बेरोजगारी समस्याका प्रमुख कारण यस्ता रहेका छन्।

१) उच्च जनसंख्या वृद्धिदर – नेपालमा उच्च जनसंख्या वृद्धि दर लगभग २.३५ रहेको कारणले गर्दा पुराना बेरोजगारहरुलाई रोजगारीको अवसर सिर्जना हुन नपाउँदै नयाँ बेरोजगारहरु श्रम बजारमा प्रवेश गर्दछन्। फलस्वरुप बेरोजगारी समस्या झनझन् बिकराल बन्दै गएको छ।

२) मुद्रास्फीति र मन्दी – मुद्राको क्रय शक्तिमा आएको ह्रास र बिभिन्न कारणले गर्दा व्यापार–व्यवसायमा आएको मन्दीको प्रभावले गर्दा नयाँ रोजगारी सिर्जनामा कमी तथा पुरानो रोजगारीका अवसरहरु समेत संकटमा पर्न गएकोले बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ।

३) सुस्त व्यापार वृद्धि – हाम्रो मुलुकमा व्यापार–व्यवसायको वृद्धि दर अन्य विकसित मुलुकको तुलनामा निकै कम रहेको पाइन्छ। त्यसको परिणामस्वरुप उच्च दरमा रोजगारीको अवसर सिर्जना हुन पाउँदैन र बेरोजगारी समस्या उत्पन्न भएको छ।

४) प्रविधिको प्रयोग – आधुनिकीकरणको प्रभावले गर्दा स–सानादेखि ठूल–ठूला उद्योगहरुमा मानव संसाधनको सट्टा प्राविधिको प्रयोगमा जोड दिनुसमेत बेरोजगारी समस्याको एक प्रमुख कारण हो।

५) मौसमी रोजगार – नेपाल कृषि प्रधान देश भएको कारणले यस माथि निर्भर अधिकाश व्यक्ति तथा परिवार मौसमी बेरोजगारीका शिकार हुन पुगेका छन्।

६) पुँजी अभाव – केही सक्षम र स्वाबलम्वी युवाहरु स्वरोजगार तथा अरुहरुका लागि समेत रोजगारीको सिर्जना हुने उद्यमशील कार्यको थालनी गर्न आवश्यक एकीकृत पुँजीको अभाव तथा युवा वर्गमा पुँजीको प्रबन्ध गर्न सक्ने असक्षमताका कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ।

७) कमजोर शैक्षिक गुणस्तर – हाम्रो विश्वविद्यालयहरुले उत्पादन गर्ने श्रम शक्ति सिद्धान्तमा अब्बल भएता पनि प्राविधिक, व्यवहारिक तथा प्रयोगात्मक ज्ञानको कमीले गर्दा समेत बेरोजगारी समस्या देखा परेको छ।

८) सीप तथा दक्षतामा बेमेल – हाम्रो श्रम शक्तिसँग विद्यमान परम्परागत सीप तथा दक्षता र त्यसै गरी अन्य मुलुकहरुमा सिकेका सीप तथा दक्षता अनुसारको अवसर नेपाली श्रम बजारमा उपलब्ध नहुनु दुर्भाग्यको विषय बन्न पुगेको छ। उपलब्ध सीप तथा दक्षता अनुसारको उद्यमशीलता नहुनु बेरोजगारी समस्याको कारण बन्न पुगेको पाइन्छ।

९) सुशासन र कुशल नेतृत्वको कमी – हाम्रो समाजमा मौलाएको चरम भ्रष्टाचार तथा असक्षम र गैरजिम्मेवार नेतृत्वको कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ। मानव संशाधनको मूल सिद्धान्त ठीक व्यक्ति ठीक समयमा ठीक ठाउँमा हुनुपर्नेमा अन्यथा भई अर्थतन्त्रमा पर्न गएको भ्रष्टाचार तथा कुशासनको प्रभावले गर्दा सिंगो श्रम बजार प्रभावित भई बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ।

१०) परनिर्भरता – ‘आफूमा भर परे सबलता र अरुमा भर परे कमजोरी’ भनेझैं हाम्रो श्रम बजार अन्य मुलुकप्रति निर्भर छ। जसले गर्दा केही सम्भावना बोकेका श्रम शक्ति विदेश पलायन हुने भएकाले गर्दा समेत नयाँ अवसर सिर्जना हुन सकेको छैन, फलस्वरुप देशभित्र बेरोजगारी समस्या समाधान हुन सकेको छैन।

११) प्रविधिमा तरलता – पूराना सीप र क्षमता भएका व्यक्तिहरुलाई प्रविधिको क्षेत्रमा हुने नवीन परिवर्तन, आविष्कार तथा विकासको प्रभावले गर्दा समेत बेरोजगारी समस्या उत्पन्न हुन पगेको छ।

१२) श्रमको दर्जा – विदेशमा शौचालय सफा गर्न तत्पर व्यक्ति नेपालमा फोहर व्यवस्थापन तथा सरसफाई गर्न समेत आनाकानी गर्नु हाम्रो समाजको श्र प्रतिको हेर्ने श्रेणी/दर्जा प्रवृत्ति नै प्रधान रहेको पाइन्छ। स्वाभिमान र प्रतिष्ठाका कारण धेरै जनशक्ति बेरोजगार हुन पुगेका छन्, जसको नकारात्मक चक्रीय परिणाम सिंगो श्रम बजार भोग्न बाध्य छ।

१३) उद्योगहरु टाँट पल्टनु – सरकारी तथा निजीस्तरबाट सञ्चालित व्यापार–व्यवसाय तथा उद्योगहरु एकाएक टाट पल्टनु तथा धमाधम बन्द हुनु बेरोजगारी समस्याका कारण बन्न पुगेको छ।

१४) राजनीतिक अस्थिरता – हरेक नीतिको मूल नीति मानिने राजनीति पछिल्लो केही दशकदेखि नेपालमा राजनीतिक व्यवस्था निरन्तर परिवर्तन भएता पनि त्यसमा संस्थागत स्थायित्व र स्थिरता नभएका कारण अन्तरिक तथा वाह्य पुँजी परिचालनमा डर तथा त्रासको अवस्था सिर्जना भएको पाइन्छ।

लगानीकर्ताको जनधनको कुनै पनि सुरक्षाको ग्यारेन्टी नहुनु दुर्भाग्यपूर्ण अवस्था मान्न सकिन्छ। विद्यमान राजनीतिक खिचातानी, अन्तरिक कलह, अविश्वास र आन्दोलनको प्रभावले गर्दा समेत श्रम बजारमाथि नकरात्मक असर पुगेको पाइन्छ।

१५) चक्रीय बेरोजगार – बेरोजगारीले आम्दानीमा भएको कमीको कारण समग्र अर्थतन्त्रमा पर्न गएको नकरात्मक प्रभावको चक्रीय परिणामका रुपमा बेरोजगारी समस्या विराल बन्दै गएको छ।

बेरोजगारी समस्याका कारण देखिएका परिणामलाई यसरी उल्लेख गर्न सकिन्छ।

१) गरिबी – यस समस्याले आम्दानीको मार्ग अवरुद्ध गर्ने भएकोले अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्न गई व्यक्ति, परिवार र सिङ्गो समाज नै गरिबीको चक्रव्यूहमा फस्न बाध्य हुन्छन्।

२) बिरामी र निरासा – यस समस्याको प्रभावले व्यक्ति तथा समाजमा निरासा उत्पन्न हुन्छ, जसको फलस्वरुप मानिस शारीरिक तथा मानसिक रुपमा बिरामी हुन पुग्दछ।

३) अपराधमा वृद्धि – यस समस्याले गर्दा समाजमा चन्दा आतंक, आत्महत्या, अपहरण, हत्या–हिंसा, चोरी–तस्करीजस्ता जघन्य अपराधमा वृद्धि हुन पुग्दछ।

४) ब्रेन ड्रेन – यस समस्याको प्रभावले गर्दा युवाको सोच र शक्ति खाडी तथा अन्य मुलुकमा गएर रितिन्छ। हाम्रो श्रमशक्ति विदेशी भूमिमा गएर डिफिकल्ट, डेञ्जर र डर्टी काम गर्न बाध्य हुन्छन्। जसको परिणाम देशमा युवा शक्तिको ठूलो अभाव देखा पर्दछ।

५) कूलत एवं दुव्र्यसनी – यसको प्रभावले गर्दा मूलतः युवा श्रम शक्ति जाँड–रक्सी, गाँजा, चरेश, सुर्तीजन्य पदार्थको सेवन, वेश्यालयमा देह व्यापारजस्ता कुलत एवं दुव्र्यसनीको शिकार हुन पुग्दछन्।

६) आर्थिक वृद्धिमा कमी – यसको प्रभावले आम्दानीमा कमी (क्रय शक्ति, बजार माग, व्यापारमा कमी) को चक्रीय प्रभावले गर्दा समग्र आर्थिक वृद्धिमा कमी ल्याउँछ।

७) राजनीतिक अस्थिरता – ‘खाली दिमाग सैतानको बास’ भनेझैँ बेरोजगार श्रम शक्तिहरुको प्रभावले गर्दा देशमा सानोतिनो कुरामा समेत अनिश्चितकालीन धर्ना, आन्दोलन, चक्काजाम, तोडफोड जस्ता अन्य बिभिन्न गतिविधिहरुको कारण राजनीतिक अस्थिरता निम्तिएको पाइन्छ।

बेरोजगारी समस्याको समाधान कसरी गर्ने ? 

१) कृषि र उत्पादनमा जोड – नेपाल एक कृषि प्रधान देश भएको कारणले गर्दा निर्वाहमुखी कृषिलाई व्यवसायमूखी बनाउन तथा उत्पादनमूलक उद्योगमा विशेष जोड दिई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ।

२) जनसंख्या नियन्त्रण – तीव्र रुपमा बढ्दै गइरहेको जनसंख्यालाई सन्तुलित गर्नका लागि जनसंख्या शिक्षामा जोड, परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोगबाट आदर्श एवं सन्तुलित आकारको जनसंख्यालाई रोजगारीको अवसर प्रदान गर्न सजिलो हुनेछ।

३) गुणस्तरीय शिक्षा – व्यवसाय तथा रोजगारमूलक गुणस्तरीय शिक्षाको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।

४) पुँजीको प्रबन्ध – स–साना हिस्सामा रहेको पुँजीलाई एकीकृत गरी राम्रो किसिमको रोजगारी सिर्जना हुने कार्यको थालनी गर्नुपर्ने देखिन्छ। साथ–साथै राज्यले युवा वर्गलाई व्यवसायी तथा स्वरोजगार बन्नका लागि पुँजी निर्माण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ। खर्चभन्दा पुँजी निर्माण र लगानीमा जोड दिन सकेमा समेत बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्नेछ।

५) ग्रामीण विकास – नेपालको अधिकांश श्रम अवसर शहर केन्द्रित हुने भएकाले ग्रामीण क्षेत्रको विकासमा जोड दिई थप रोजगारीको अवसर सिर्जना गरी समस्या समाधान गर्न सकिन्छ।

६) लगानी मैत्री वातावरण – यस कार्यको थालनीबाट लगानी कर्ता उत्साहित भई बिभिन्न बहुराष्ट्रिय कम्पनीले नेपालमा नै उत्पादनदेखि अन्य व्यवसायीक गतिविधिको थालनी गर्न पुग्नेछन् भने देशभित्र तथा बाहिरबाट नयाँ लगानीको थालनी हुने भएकाले बेरोजगारी समस्या समाधान गर्न सकिन्छ।

७) रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता – पुनःनिर्माण, सडक–यातयात, बाढी नियन्त्रण, उत्पादनजस्ता रोजगारीमूलक क्षेत्रलाई प्राथमिकताका साथ बढाउने कार्यनीति लिएर अघि बढ्न सकेमा समस्या समाधानमा टेवा पुग्नेछ।

८) सीपमूलक तालिम – उपलब्ध श्रम शक्तिलाई समय–समयमा निरन्तर रुपले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सीप र प्रविधियुक्त तालिमको प्रबन्धबाट बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्नेछ।

९) सीप तथा दक्षता मिलान – खाडी तथा अन्य मुलुकमा रहेको श्रम शक्तिसँगको सीप र दक्षता अनुसारको व्यवसायिक गतिविधि स्वदेशमै सञ्चालन गरी विदेशमा रहेको श्रम शक्तिको उपयोगिताबाट थप नयाँ रोजगारीको अवसर समेत सिर्जना गर्न सकिन्छ।

१०) तीव्र औद्योगिकरण – तीव्र औधोगिकरण भएमा ठूलो मात्रामा श्रम शक्तिको जरुरी पर्ने भएकाले बेरोजगारी समस्या समाधान मद्दत पुग्नेछ।

११) श्रम लक्षित – प्रविधिभन्दा मानवीय श्रमको प्रयोगबाट उत्पादन एवं सेवा प्रवाहमा जोड दिन सक्यो भने बेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेछ।

१२) नीतिमा सुधार – रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून ब्याजदरमा ऋण सेवा, न्यून कर तथा ग्रामीण र दुर्गम क्षेत्रमा कारोबार सञ्चालन गर्नेलाई विशेष प्राथमिकता र सहायताको नीति लिएर समेत बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ।

१३) युनियनको अधिकारमा नियमन – अनावश्यक सिण्डिकेट, बन्द–हडताल, धर्ना, कामचोरी, दादागिरी र धाकधम्की जस्ता गैरजिम्मेवारीपूर्ण कार्यहरुलाई निरुत्साहित गर्ने तथा श्रमिकको सिधा सम्पर्क मालिकसँग स्थापित गर्न श्रम युनियनको अधिकारमा नियमन गरी स्वच्छ श्रम सम्बन्ध कायम गरी थप रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ।

१४) सुशासन र कुशल नेतृत्व – सुशासित सेवा प्रवाह, स्थिर राजनीतिक अवस्था र कुशल नेतृत्वको कारण अर्थतन्त्रमा पर्न गएको सकरात्मक प्रभावले बेरोजगारी समस्या नियन्त्रण गर्न सहयोग पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्