स्टार श्रेष्ठ-युएई, २४ वैशाख।
युएईमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाइने भएको छ। बुद्ध जयन्ती जुन १४ तारीख शुक्रबारका दिन दुबईको काल्ट्र्न टावर होटलमा भव्य रुपमा मनाइने आदिवासी जनजाति महासंघ युएईले जनाएको हो।
नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पाका अनुसार महासंघमा आवद्ध ११ जातीय संस्थाहरू नेवास् पुच युएई, तामाङ समाज युएई, नेपाल मगर संघ शाखा युएई, तमु समाज युएई, किराँत राई यायोक्खा शाखा युएई, किराँत याक्थुङ चिम्लुङ युएई, शेर्पा किदुग युएई, थारु कल्याणकरिणी सभा युएई, प्रवासी माझी समाज युएई, प्रवासी भुजेल सेवा समिति युएई, सुनुवार सेवा समाज युएईले संयुक्त रुपमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।
उक्त कार्यक्रमलाई भव्य र सभ्यका साथ सम्पन्न गर्नको लागी महासंघले आदिवासी जनजाति महासंघ यूएईका महासचिव सनिल घिसिङको संयोजकत्वमा विभिन्न समितीसमेत गठन गरेको जनाएको छ।
कार्यक्रमको पहिलो चरणमा लामा गुरूबाट पुजा पाठ, बुद्ध दर्शनका बारेमा मन्तव्यहरू र भगवान गौतम बुद्ध सम्बन्धि बृत्तचित्रहरू प्रस्तुत गरिने भएको छ भने कार्यक्रमको दोस्रो भागमा नेपाल आदिबासी जनजाति कलाकार महासंघ यूएईका कलाकारहरूले सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने र प्रत्येक संस्थाहरूबाट उत्कृष्ट २-२ वटा उत्कृष्ट प्रस्तुतिहरू राखिनुका साथै आबुधाबी र अन्य शहरहरूबाट आउने दर्शकहरुको लागी समेत बसको व्यवस्था गरिने आयोजकले जनाएको छ।
धेरै भन्दा धेरै युएईवासी नेपालीहरुको सहभागिता गराएर एसियाका ज्योती, नेपालका राष्ट्रिय विभुती, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं जन्म जयन्ती भब्य रूपमा मनाइने शेर्पाले बताए।



लाेकपाटी न्यूज
