काठमाडौं, २४ वैशाख। मंगलबार अक्षय तृतीया पर्व मनाइँदैछ। वैशाख शुक्ल तृतीयाका दिन मंगलबार दान, होम, जप, तप गरि अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ। यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ। यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ। अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो।
जौंको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ। आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ।
वैशाखको गर्मीमा सक्खरको सर्वत र जौंको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।



लाेकपाटी न्यूज
