दमौली, २२ वैशाख। तनहुँको आँबुखैरेनीमा शिक्षक अभावमा सामुदायिक विद्यालय बन्द हुने भएका छन्।आँबुखैरेनी गाउँपालिकास्थित ६ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ।
आँबुखैरेनी गाउँपालिका २ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं. ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए। शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए।
उनले भने, “ती विद्यालयमा पढाइरहेका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोजे।जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो।” उनका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ।
उनका अनुसार ती विद्यालयमध्ये केही विद्यालय मर्ज गर्नुपर्ने अवस्थासमेत रहेको छ । उनले भने, “केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय मर्जको प्रक्रिया बढाइएको छ, कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइ रहेका छन् ।” वडा नं ३ स्थित परोपकार प्राथमिक विद्यालयमा समेत वैशाख २६ गतेबाट शिक्षक अभाव हुने उनले बताए।



लाेकपाटी न्यूज

