जनकपुरधाम, २२ वैशाख। भारतको बिहार राज्यको नेपाल भारतको सीमानासँग जोडिएको क्षेत्रमा भोलि सोमबार लोकसभाको चुनाव भएका कारणले अधिकांश सीमा नाकाहरु आइतबार बिहानदेखि पूर्ण रुपमा बन्द गरिएको छ।
नेपालको तर्फबाट जाने सवारी साधन नेपालतर्फ रोकेर राखिएको छ भने भारतबाट नेपालतर्फ आउने सवारी साधनहरुलाई भारततर्फ नै पार्क गरेर राखिएको छ। नाका क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कडा सुरक्षा गस्ती गरिरहेका छन् भने भारततर्फ भारतीय सीमा सुरक्षा बलले पनि सुरक्षा व्यवस्था कडा बनाएको छ।
अत्यावश्यक सेवाको एम्बुलेन्ससहितको सेवाहरुलाई दुवै देशको सुरक्षा अधिकारीको प्रत्यक्ष निगरानीमा छोड्ने कामकाज भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।अप्रील ६ तारेख अर्थात् वैशाख २३ गते बिहारको नेपालसँग सीमाना जोडिएको अधिकांश भागहरुमा पाँचौं चरणको लोकसभाको चुनाव भएका कारणले कतिपय नाकाहरु शनिबार वेलुकादेखि नै बन्द गरिएपनि आइतबार बिहानदेखि सबै नाकाहरु पूर्ण रुपमा शील गर्ने कामकाज भएको छ।
नेपालमा कामकाज गर्दै आएका भारतका मतदाताहरु परिचयपत्रको आधारमा आइतबार बिहान १० बजेसम्म कडा चेक जाँचसहित सुरक्षा निगरानीमा जान दिएको र त्यसपछि निक्कै कडा बनाईएको छ। भोली सोमबार मतदान सकिएपछि बेलुका पछि बन्द रहेका सवै नाकाहरु खुल्ने भएको छ। तर, रक्सीको विक्रि वितरण तीन दिनका लागि बन्द गरिएको छ।



लाेकपाटी न्यूज
