हतियार नबुझाए विप्लव समाप्त हुन्छन् : प्रधानमन्त्री ओली

KP Sharma Oli
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन अपील गरेका छन्। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सरकाले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै उनले हतियार बुझाएर हिंसा नत्यागे समूह नै समाप्त हुने अवस्थामा पुग्ने बताएका हुन्।

उनले भने, ‘पृथकतावाद अन्त्य गर्‍यौं र विप्लव समूहको नाममा मच्च्याइएको त्रासलाई पनि नियन्त्रण गर्छाैँ। उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ। त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन्। ओलीले उनीहरुको क्रियाकलाप गैरकानूनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे।

उनले भने, ‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे। उनीहरुका क्रियाकलाप अबैध, हानिकारक, असंवैधानिक, गैरकानूनी भएकाले जायज हुन सक्दैन, त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाइएको हो। त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुदैन भनियो। अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जति पनि असुल्न इजाजत छ भन्ने ?’

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उनले सांसदहरुलाई स्पष्टीकरण दिए। राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उनले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबैभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दावी गरे।

प्रधानमन्त्री ओलीले मेरो सरकार अन्तराष्ट्रिय अभ्यास भएकाले यस बारेमा बहस गर्नु आवश्यक नभएको तर्क गरे। उनले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे सविस्तार प्रशिक्षण नै दिएका थिए। बैठकमा नेकपाका सांसदहरुले सरकारका निर्णय र नीति तथा कार्यक्रममाथि जिज्ञासा राखेका थिए।

संसदीय दलको बैठकमा सांसदहरुले नेताहरुको निर्देशन मात्रै नभइ आफूहरुको पनि कुरा सुन्नुपर्ने र सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न माग गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्