शान्ति प्रक्रियामा नआए विप्लव समाप्त हुन्छ : प्रधानमन्त्री

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव शान्ति प्रक्रियामा नआए त्यसको अस्तित्व नै समाप्त हुने बताएका छन्। शनिबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूह नै समाप्त हुने बताएका हुन्।

सरकारले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप पनि नियन्त्रणमा लागेको भन्दै उनले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समूह नै समाप्त हुने अवस्थामा पुग्ने चेतावनी दिए। उनले भने, ‘पृथकतावाद अन्त्य गर्यौं। विप्लव समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौं। उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ। त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन्।’

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै उनले उनीहरुको क्रियाकलाप गैरकानुनी र असम्वैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे।

यस्तै नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उनले सांसदहरुलाई प्रस्टीकरणसमेत दिए। राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उनले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबैभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दाबी गरे।

मेरो सरकार अन्तर्राष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क उनले गरे। उनले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे सविस्तार प्रशिक्षण नै दिएका थिए।