काठमाडौं, २० वैशाख। सुदूरपश्चिमको धनगढीमा ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’ हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुपा इन्टरटेन्टमेन्ट प्रा.लि. धनगढीको सहआयोजनामा आउँदो जेठ १९ र २० गते आयोजना हुने उक्त महोत्सवमा सुदूर पश्चिमका सबै जिल्लाका साथै सातवटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताए ।
संयोजक प्राज्ञ राईका अनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता रहने उक्त महोत्सव तयारीका लागि हालै धनगढीमा सम्पन्न सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको बैठकले भुवन रिजालको संयोजकत्वमा स्थानीय आयोजक समिति र विभिन्न ८ वटा उपसमिति गठन गरेको छ । बैठकमा प्राज्ञ राई, जनसम्पर्क संयोजक प्रेमनाथ अधिकारी, साहित्यकार पुष्कर भट्ट र सुपा इन्टरटेन्टमेन्टका अध्यक्ष अनुप चन्दलगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले सङ्गीत साधना प्रतिष्ठानसँगको सहकार्यमा वैशाख २७ र २८ गते प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बृहत् बहुभाषिक सङ्गीत महोत्सव गर्दैछ ।



लाेकपाटी न्यूज

