काठमाडौं। बेरुजु फर्स्याैटमा उल्लेखित सफलता प्राप्त गरेको नेपाल प्रहरीले सूचना–प्रविधिमा पनि आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ।
नेपाल प्रहरीमा सूचना–प्रविधिको प्रयोगमा उल्लेख्य सफलता मिलेको र अपराध अनुसन्धान र प्रशासनिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै नेपाल प्रहरीलाई सम्मान गरिएको छ। बिहीबार नेपाल सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त सम्मान प्रदान गरेका हुन्।
सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले National ICT Award 2019 (Public Sector) द्वारा नेपाल प्रहरी सम्मानित भएको हो।
बिहीबार एक औपचारिक समारोहका बीच मन्त्री बाँस्कोटाले महानिरीक्षक खनाललाई उक्त सम्मान प्रदान गरेका थिए। खनालको कार्यकालमा प्रहरीले सूचना–प्रविधिमार्फत् अपराध नियन्त्रणको अभियान नै थालेको छ। यस बीचमा साइबर अपराध लगायतका विद्युतीय माध्यमबाट हुने अपराधको प्रविधिकै प्रयोगबाट अनुसन्धान थालिएको हो।
आइजीपी खनालले नेपाल प्रहरीका सबै प्रादेशिक, जिल्ला र स्थानीय तहका युनिटहरुलाई प्रविधिमैत्री बनाउन प्रयास गर्दै आएका छन्। पछिल्लो समय उनले अन्तर्राष्ट्रिय फोरमहरुमा समेत प्रविधिको प्रयोगमा नेपाल प्रहरीको प्रयासबारे आफ्नो प्रस्तुति राख्दै आएका छन्।
नेपाल प्रहरी यसअघि बेरुजु फस्र्यौटमा सरकारी कार्यालयहरुमध्ये उत्कृष्ट सावित भएको छ। यसअघि बेरुजु फस्र्यौटमा ८५ प्रतिशत सफलता हासिल गरेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आइजीपी खनाललाई सम्मान गरेका थिए।
त्यसलगत्तै महानिरीक्षक खनालले आर्थिक अनुशासन कायम राख्न अहोरात्र खट्ने प्रहरी अधिकृतहरुलाई प्रहरी मूख्यालयमा पुरस्कृत गरेका थिए। आर्थिक अनुशासनमा उत्कृष्ट प्रमाणित भएको प्रहरी सूचना प्रविधिको प्रयोगमा पनि उत्कृष्ट भएको हो।



लाेकपाटी न्यूज

