रोका र जुग्जालीले कुटे प्रधानाध्यापक

Principle
लाेकपाटी न्यूज

म्याग्दी, १९ वैशाख। म्याग्दीमा दलित भएर अर्काको घरभित्र पसेको आरोपमा विद्यालयका प्रधानध्यापक कुटिएका छन्। दलित भएर घरभित्र पसेको भन्दै म्याग्दीको एक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको खुलेको हो।

जिल्लाका धौलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेसबहादुर विश्वकर्मामाथि गत वैशाख ५ गते कुटपिट भएको खुलासा भएको छ। रघुगंगा गाउँपालिका ८ घर भई मल्कवाङमा शिक्षण गर्दै ४२ वर्षीय विश्वकर्मामाथि स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले कुटपिट गरेका हुन्।

कुटपिटबाट प्रधानाध्यापक विश्वकर्माको देब्रे खुट्टाको बिचका दुई वटा औँला र पैताला जोड्ने हड्डी भाँचिएको छ। घटना भएको १३ दिनपछि बुधवार मात्र कुटपिटको विरोध गर्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले बुधवार विज्ञप्ति निकालेपछि घटना ढिलो गरी बाहिरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवाहरूसँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पस्ने क्रममा बाहिर लगी पाँच मिटर अग्लो आँगनको डिलबाट खसालेको पीडित प्रअ विश्वकर्माले बताएका छन्।

‘विद्यालय सञ्चालनकै विषयमा छलफलमा भइरहेको थियो, त्यही बेलामा मलाई दलित भन्दै अपशब्द बोल्दै लतारेर आँगनबाट खसाले’, शिक्षक विश्वकर्माले भने।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार घटनामा संलग्न दुवै जनाको विरुद्धमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले मुद्दा चलाएको छ। पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न धवलागिरी गाउँपालिका ५ का ३५ वर्षीय बलबहादुर रोका र ३० वर्षीय जितेन्द्र जुग्जाली विरुद्ध जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको हो।

घटना भएपछि ६ गते उपचारको लागि सदरमुकाम पुगेका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाएको थियो।

प्रहरीमा भने वैशाख ७ गते पीडित रेसबहादुरका छोरा दिप्सनले जाहेरी पठाए पनि १५ गते मात्र दर्ता भएको हो। आफू विदामा बसेका र पीडित पोखरा भएका कारण आधिकारिक रूपमा तत्कालै जाहेरी दर्ता नभए पनि सूचना र इलाका प्रहरी कार्यालय दरवाङ मार्फत भएको अनुसन्धानको आधारमा पीडक विरुद्ध मुद्दा दर्ता गरेर कारबाही फरार रहेका दुवै जनाको खोजीको प्रक्रिया सुरु गरेको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्