अब काठमाडौंका प्रत्येक घरमा एसएसपीको नम्बर

kathmandu city
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। काठमाडौंका सबै घरधनी र डेरावालाको विवरण संकलन गर्ने अभियान सुरु भएको छ।काठमाडौंलाई अपराधमुक्त बनाउने भन्दै प्रहरीले सबै घरधनी र डेरावालाको विवरण संकलन शुरु गरेको हो।

काठमाडौंमा रहेका सबै वृत्त र प्रभागहरुको नेतृत्वमा काठमाडौं प्रहरीले विवरण संकलन अभियान सुरु गरिएको परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए। लामाका अनुसार सुमदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म २६ हजार बढी घरधनी र भाडावालको विवरण संकलन गरिएको छ। काठमाडौंमा ५ देखि ६ लाख घरधुरी भएको प्रहरी अनुमान छ। यो अभियान तत्कालीन काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले पनि सुरु गरेका थिए।

सबै घरधनी र भाडावालको विवरण संकलन गर्न अझै ३ महिना लाग्नसक्ने एसएसपी लामा बताउँछन् । विवरण संकलन गर्नका लागि विभिन्न सरोकारवाला निकायले सहयोग समेत गरेका छन्। काठमाडौं जिल्लामा मात्रै रैथाने र बाहिरबाट आएका गरी झण्डै ३० लाख मानिसको बसोबास रहेको अनुमान छ।

त्यस्तै, दुईपांग्रे र चारपांग्रे गरी करिब १० लाख सवारीसाधन काठमाडौंका सडकमा गुड्छन् । चाहिएको सबै सूचना तत्काल प्राप्त गर्न सकिने र को–कहाँ बस्छ भन्ने सूचनाले प्रहरीलाई सुरक्षा प्रबन्धका लागि सहज हुने परिसर काठमाडौंका एसएसपी लामाको बुझाइ छ। उनका अनुसार घरधनीको विवरणसँगै डेरामा बस्नेको नागरिकता नम्बरदेखि सवारी साधनको नम्बरसमेत प्रहरी कार्यालयमा घरधनीले प्रहरीलाई उपलब्ध गराउनुपर्नेछ ।

प्रहरीले सबै घरधनीलाई एउटा फारम उपलब्ध गराउनेछ । फारममा सुरुमा घरधनीको विवरण उल्लेख गर्नुपर्नेछ । जसमा टोल, मार्ग, वडा, नागरिकता नम्बर, जिल्ला सबै विवरण भर्नुपर्नेछ । त्यसपछि घरभाडामा बस्नेहरुको सम्पूर्ण विवरण पनि घरधनीले नै भर्नुपर्नेछ । जसमा नाम, बोलाउने नाम, स्थायी ठेगाना, पेशा व्यवसाय, उमेर, सवारीसाधन भए त्यसको नम्बर उल्लेख गर्नुपर्नेछ।

एसएसपी लामाका अनुसार कतिपय जिल्लाबाट भागेर आएका अपराधीको विवरण प्रहरीसँग हुन्छ । घरधनीले दिएको विवरणबाट त्यो पनि खुल्न सक्छ । काठमाडौंमै पनि प्रहरीले धेरैलाई खोजिरहेको हुन्छ, यस्तो अवस्थामा विवरणबाट अपराधीको सम्पूर्ण सूचना प्रहरीसम्म पुग्ने लामा बताउँछन् ।

विवरण संकलनसँगै प्रहरीले काठमाडौंका प्रत्येक घरमा महानगरीय प्रहरी परिसका प्रमुख एसएसपी, विभिन्न वृत्तका प्रमुखलगायतको नम्बर पनि टाँस्न थालेको छ । लामा भन्छन, ‘कुनै असहजता भएमा जनताले सीधै प्रहरी प्रमुखलाई पनि फोन गर्न सक्नेछन् । सबैको नम्बर भएको स्टीकर हामीले घरभित्र सबैले देख्ने स्थानमा टास्छौं ।’

अब स्थानीयले १०० नम्बरमा मात्र होइन सीधै काठमाडौं प्रहरी प्रमुखसँग आफ्नो गुनासो र समस्या राख्न सक्नेछन्। लामा भन्छन्,‘कुनै अपराधको जानकारी भएपनि फोन गर्न सकिनेछ । त्यसको गोप्यता कायम रहन्छ ।’ घरधनीले बुझाएको विवरण पनि गोप्य रहने उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्