काठमाडौं, १७ वैशाख। नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मेयर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन्। नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचार मात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन्।
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन्। उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रमा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्। त्यस्तै मंगलबार नै राजपावाट रौतहट–३ का उम्मेद्वार रहेका ओमप्रकाश जयसवाल पनि नेकपामा प्रवेश गरेको छन्।
उनी पनि प्रचण्डको हातबाट टिका लगाएर नेकपा प्रवेश गरेका हुन्। जयसवालले राजपाले क्षेत्रीयतावादी सोच त्याग्न नसकेका कारण आफू नेकपामा समाहित भएको बताएका छन्। उनीहरुले नेकपाले मात्र समृद्धिको कार्यभार पूरा गर्नसक्ने बताए।
पार्टी प्रवेश गराउँदै नेकपाका अध्यक्ष प्रचण्डले समृद्धि, सुशासन र समाजवादको कार्यभार कम्युनिष्टहरुको काँधमा आएको बताए। उनले दशक समृद्धिको दशक भएको भन्दै पार्टीमा इमान्दार भएर काम गर्न नवआगन्तुक नेताहरुलाई आग्रह पनि गरे।



लाेकपाटी न्यूज

