सात घण्टामै जापान, भाडादर ४५ हजार

Nepal Airlines
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।

आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो। जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ।
जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ।

भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ। जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो। जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झण्डै ४५ दिन लाग्ने छ। सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ। निगमले काठमाडौँ–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौं साँढे सात घण्टाको उडान हुनेछ।

वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो। निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो ।निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइड बडी जहाज भित्र्याएको थियो ।

निगमले जापानकै नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सिधा उडान भर्नका लागि प्रक्रिया अघि बढाएको छ।यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ। नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्