काठमाडौं, १६ वैशाख। इन्डोनेसियामा निर्वाचनको मतगणनाका क्रममा ओभरटाइम काम गर्दा २ सय ७२ जना कर्मचारीको मृत्यु भएको छ।
अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन्। अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन्। इन्डोनेसियामा यही अप्रिल १७ मा सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ।
हातबाटै मतगणना गर्दा लगातार लामो समयसम्म काम गर्नुपरेकाले धेरै कर्मचारीको थकाइबाट मृत्यु भएको बताइएको छ। निर्वाचन आयोगका प्रवक्ता एरिफ प्रियो सुसान्तोले १८ सय ७८ कर्मचारी बिरामी परेको बताए।निर्वाचनको मतगणना र रेखदेखका लागि ७० लाख मानिस खटिएका थिए। कर्मचारीको मृत्यु हुनुको कारण गर्मी र खराब परिस्थितिमा रातभरि काम गर्नु रहेको बताइएको छ।
अधिकारीहरूका अनुसार यी कारणले कर्मचारीमा शारीरिक समस्या देखा परेको थियो। करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा चुनाव प्रक्रियामा हुने खर्च कम गर्नका लागि एकैसाथ विभिन्न निर्वाचन गराइएको बताइएको छ।
त्यस्तै करिब १९ करोड ३० लाख मतदाता रहेको यो मुलुकमा चुनाव क्रममा ८० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए।
निर्वाचन आयोगका अनुसार मुलुकभर ८ लाख मतदान केन्द्र राखिएका थिए। इन्डोनिसया चुनावी प्रक्रियाका लागि अधिकांश अस्थायी कर्मचारीको नियुक्ति गरिएको थियो। नियुक्तिका क्रममा सरकारी कर्मचारी सरह तिनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन्।
निर्वाचन आयोगले मृत्यु भएकाहरूका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। आलोचकहरूले सरकारले एकै पटक विभिन्न चुनाव गर्दा पूर्वतयारी नगरेकाले ठूलो संख्यामा कर्मचारीले ज्यान गुमाएको बताएका छन्। निर्वाचन आयोगले आगामी मे २२ सम्म मतगणना पूरा हुने जनाएको छ। (एजेन्सी)



लाेकपाटी न्यूज

